२०८३ असोज २४ गते शनिवार | 2026 October 10th Saturday

पत्रकार किशोर श्रेष्ठलाई ३ दिन थुनामा राख्न अदालतको आदेश

काठमाडौं – चरित्र हत्या र गोपनीयता भंग हुनेगरी समाचार प्रकाशन गरेको आरोपमा पक्राउ परेका जनआस्थाका प्रधानसम्पादक किशोर श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंले तीन दिन थुनामा राख्ने आदेश दिएको छ।

न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासमा भएको बहसपछि अनुसन्धानका लागि तीन दिन थुनामा पठाउने आदेश आएको हो। प्रहरीले १० दिनको माग गरे पनि अदालतले तीन दिन मात्र अनुमति दिएको छ।

श्रेष्ठको पक्षबाट नेपाल बार अध्यक्ष विजय मिश्र, वरिष्ठ अधिवक्ता गोविन्द बन्दी, सम्भु थापा लगायतले सामाजिक सञ्जालमै सार्वजनिक भएको तस्बिर छापिएको भन्दै अभियोग पुष्टि नहुने दाबी गर्दै रिहा गरेर अनुसन्धान गर्न माग गरेका थिए।

श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवासबाट पक्राउ गरिएको थियो। बिहीबार बिहान जनआस्थाको कार्यालयमा छापा मारेर कम्प्युटरलगायत सामग्री नियन्त्रणमा लिइएको छ।

उनको गिरफ्तारीपछि देशभरका पत्रकार संघ–संस्थाले सरकारको कदमको विरोध गरेका छन्। नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विभिन्न दलका नेताहरूले समेत तत्काल रिहाइको माग गरेका छन्। पत्रकार महासंघको अगुवाइमा भद्रकालीस्थित प्रहरी परिसर अगाडि धर्ना समेत दिइएको छ।

 

प्रकाशित मिति : २०८३ साउन २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस