२०८३ भाद्र ३० गते मङ्गलवार | 2026 September 15th Tuesday

बेपत्ता भएकी २० वर्षीया प्रतीक्षा थापा मृत फेला

बाजुरा – त्रिवेणी नगरपालिका–११ ताम्सुमा गएको पहिरोमा बेपत्ता भएकी २० वर्षीया प्रतीक्षा थापा मृत फेला परेकी छन्। अविरल वर्षाले घर माथिबाट आएको पहिरोले उनको घर पुरिँदा उनी बेपत्ता भएकी थिइन्।

घटनामा धौली देवी रावल र धर्म थापा घाइते भएका छन्, जसलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ। पहिरोले धर्म थापा र कर्णबहादुर थापाको घर समेत पुरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

घटनापछि प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वमा १७ जनाको टोली उद्धारमा खटिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय निकायका प्रतिनिधिहरू समेत उद्धारमा सक्रिय छन्।

गएरातिको भारी वर्षाले जिल्लाभर जनजीवन अस्तव्यस्त बनेको छ। बुढीगंगा–२ मा घर पसलमा क्षति पुगेको छ भने गौमुल–२ मा एक घर भत्किएको छ। पैदल बाटा, सडक र घाटा अवरुद्ध हुँदा गाउँ थप जोखिममा परेको छ।

प्रकाशित मिति : २०८३ साउन २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस