२०८३ भाद्र २३ गते मङ्गलवार | 2026 September 8th Tuesday

विश्व अर्थतन्त्रमा हलचल, डलर कमजोर बनेपछि सुनको मूल्य बढ्यो

Gold Price Hits All-Time High Again Today In Nepal

काठमाडौं । अमेरिकी डलर कमजोर बनेसँगै मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ। लगानीकर्ताको ध्यान आगामी अमेरिकी मुद्रास्फीतिसम्बन्धी तथ्यांकमा केन्द्रित भएको छ, जसले अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको आगामी मौद्रिक नीतिबारे बजारको अपेक्षालाई प्रभावित गर्न सक्ने देखिएको छ।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार स्पट गोल्डको मूल्य ०.६५ प्रतिशत अर्थात २७ डलरले बढेर प्रतिऔंस ४ हजार ४३९ डलर पुगेको छ।

अमेरिकी डलर इक्डेक्स ०.४ प्रतिशतले घटेको छ। डलर कमजोर हुँदा डलरमा मूल्य निर्धारण हुने सुनजस्ता धातु अन्य मुद्रामा कारोबार गर्ने लगानीकर्ताका लागि तुलनात्मक रूपमा सस्तो हुने भएकाले सुनको मागमा सकारात्मक प्रभाव परेको हो।

बजारको आगामी दिशाका लागि अमेरिकी मुद्रास्फीतिसम्बन्धी तथ्यांकलाई महत्वपूर्ण रूपमा हेरिएको छ। अमेरिकी उत्पादक मूल्य सूचकांक बिहीबार तथा उपभोक्ता मूल्य सूचकांक शुक्रबार सार्वजनिक हुँदैछ। यी तथ्यांकले मुद्रास्फीतिको अवस्था र त्यसका आधारमा फेडरल रिजर्भले आगामी बैठकमा लिने नीतिगत निर्णयबारे लगानीकर्ताको अपेक्षालाई प्रभावित गर्न सक्नेछ।

यसअघि अमेरिकी रोजगारी वृद्धिदर अगस्टमा अपेक्षाभन्दा तीव्र भएको तथा बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर रहेको तथ्यांक सार्वजनिक भएपछि पछिल्ला दुई कारोबार सत्रमा स्पट सुनको मूल्य घटेको थियो। सुधारिएको श्रम बजारले फेडरल रिजर्भको ब्याजदरसम्बन्धी निर्णयलाई थप प्रभावित गर्न सक्ने विश्लेषण गरिएको छ।

आगामी साता हुने फेडरल रिजर्भको नीतिगत बैठकमा ब्याजदर बढ्ने सम्भावनालाई करिब ६० प्रतिशत मानेका छन्। सामान्यतया उच्च ब्याजदरले ब्याज वा प्रतिफल नदिने सुनको आकर्षण घटाउने गर्छ।

यसैबीच, मध्यपूर्वमा बढ्दो भूराजनीतिक तनावले पनि सुनको मागलाई प्रभावित गर्न सक्ने देखिएको छ। इरानले अमेरिकामाथि ‘आर्थिक युद्ध’ को चेतावनी दिँदै अमेरिकी युद्धपोततर्फ उन्नत क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ। पछिल्ला दिनमा अमेरिका र इरानबीच पुनः सैन्य झडप भएपछि क्षेत्रीय तनाव थप बढ्ने जोखिम देखिएको छ। यस्तो भूराजनीतिक अनिश्चितताले सुरक्षित लगानीको साधनका रूपमा सुनप्रतिको आकर्षण बढाउन सक्ने गर्छ।

प्रकाशित मिति : २०८३ भाद्र २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस