काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई महाराजगन्जस्थित आफ्नै निवासबाट पक्राउ गरेको प्रहरीले पुष्टि गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको एक उच्च प्रहरी अधिकारील बताए।
यद्यपि, उनीविरुद्ध परेको उजुरीको विस्तृत विवरण भने अझै खुलाइएको छैन। २०७५ पुस १८ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका जबराविरुद्ध २०७८ फागुन १ गते संसद्मा महाभियोग प्रस्ताव दर्ता भएको थियो। महाभियोग प्रस्ताव दर्ता भएसँगै निलम्बनमा परेका जबराविरुद्धको प्रस्ताव पारित नभए पनि त्यसपछि उनी सर्वोच्च अदालत फर्किन पाएनन् र निलम्बित अवस्थामै उनको कार्यकाल समाप्त भएको थियो। केही दिनअघि मात्र अदालतको आदेशमा उनको महाभियोग निस्क्रिय भएको र पेन्सन पट्टा पाउने आदेश भएको थियो ।

