२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

अडियो एआई हाे, म माथि छानबिन होस्, सघाउन तयार छु – खगेन्द्र

रास्वपा सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपमा राज्य र पार्टीका छानबिनमा सघाउने बताएका छन्।

अश्लील गाली गर्दै धम्क्याएको र ब्ल्याकमेलिङ गरेको अडियो सार्वजनिक भएपछि पार्टीले उनलाई औपचारिक कार्यक्रममा संलग्न हुन रोक लगाएको छ।

सुनारले सार्वजनिक अडियो बनावटी भएको जिकिर गर्दै प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएकै कारण आफूलाई निशाना बनाइएको आरोप लगाएका छन्।

२७ असोज, काठमाडौं । रास्वपा सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपमाथि छानबिन गर्न पार्टी र सरकारलाई सघाउने बताएका छन् ।

एक महिलालाई अश्लील गाली गर्दै धम्क्याएको र ब्ल्याकमेलिङ गरेको अडियो सार्वजनिक भएपछि सुनारले सो अभिव्यक्ति दिएका हुन् ।

खगेन्द्र सुनारले एक महिलालाई अपशब्द प्रयोग गर्दै धम्क्याएको अडियोसहितको समाचार जनआस्थाले सोमबार सार्वजनिक गरेको थियो । मंगलबार रास्वपा महामन्त्री विपिन आचार्यले विज्ञप्ति जारी गरी खगेन्द्रलाई सार्वजनिक पदमा रहेर औपचारिक कार्यक्रममा संलग्न हुन रोक लगाउँदै छानबिन अघि बढाइएको जानकारी दिएका थिए ।

त्यस लगत्तै फेसबुकमा एक भिडियो अपलोड गर्दै सुनारले आफूमाथि लागेका आरोपमा छानबिनका लागि सघाउने बताएका हुन् । ‘म जनताको बीचमा उठेका प्रत्येक प्रश्नको जवाफ दिन तयार छु । म जनताको कठघरामा सार्वजनिक ठाउँमा जतिबेला पनि उभिन तयार छु,’ सांसद सुनारले भनेका छन्, ‘राज्यले गरेको पार्टीले गरेको सबै खालका छानबिनमा म सघाउन तयार छु । मैले केन्द्रीय समितिबाट पनि निलम्बित हुनुपर्छ भने म तयार छु । सांसदबाट निलम्बित हुन पनि म तयार छु ।’ उनी बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

उनले प्रहरी भित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि आफूलाई निरन्तर निशाना बनाइएको आरोप समेत लगाएका छन् । पार्टीको कामको सिलसिलामा दाङमा रहेका उनले भनेका छन्, ‘मैले भगवानको आँखामा हुने कुनै पाप र कानुनको आँखामा हुने कुनै अपराध गरेको छु भने म अहिले यही दाङबाट हतकडी लाएर जानलाई मलाई कुनै पनि आपत्ति छैन ।’

उनले सार्वजनिक अडियो बनावटी भएको जिकिर समेत गरेका छन् । ‘अहिले सामाजिक सञ्जालमा अडियो र भिडियो भन्दै जे सार्वजनिक गरिएको छ, त्यसमा मेरो कुनै संलग्नता छैन। त्यो पात्र म होइन,’ उनले भनेका छन्, ‘मैले त्यस्तो कुरा बोलेको वा त्यस्तो काम गरेको छैन ।  प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), कसैलाई बोल्न लगाउने वा आवाजको नक्कल गर्ने जुनसुकै माध्यमबाट भए पनि मलाई फसाउने प्रपञ्च भइरहेको मेरो आशंका छ ।’

उनले थप भनेका छन्, ‘ममाथि निर्भीक र निष्पक्ष छानबिन होस् । पार्टीले मलाई आफ्नै साथी भनेर संरक्षण गर्नुपर्दैन । सरकारले पनि ममाथि कुनै दया देखाउनुपर्दैन । मलाई दयाको भिक्षा चाहिएको छैन । ममाथि निष्पक्ष छानबिन होस् । मैले अपराध वा बदमासी गरेको प्रमाणित भएमा कानुनबमोजिमका सबै परिणाम भोग्न तयार छु ।’

प्रकाशित मिति : २०८३ असोज २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस