२०८३ असोज २४ गते शनिवार | 2026 October 10th Saturday

साउदी अरबमा दुई नेपालीलाई टाउको काटेर मृत्युदण्डको सजाए, शव साउदीको जमिनमै

death penalty in saudi arabia

दोहा । साउदी अरबमा एक नेपालीलाई टाउको काटेर मृत्युदण्ड दिइएको छ । साउदी नागरिकलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा नेपालका सन्त बहादुर पुनलाई मृत्युदण्ड दिइएको हो। हत्या आरोपमा २२ वर्षदेखि साउदी अरेबियाको कुरैयात जेलमा जेल जीवन बिताइरहेका पर्वत मोदी गाउँपलिका–४ खुइजेरीका पुनलाई बिहीबार मृत्युदण्ड दिइएको रियादस्थित नेपाली दूतावासका प्रथम सचिव तथा सूचना अधिकारी ऋषिराज आचार्यले जानकारी दिनुभयो ।

नेपाल र साउदी सरकारले उनलाई २०५८ जेठमै मृत्युदण्डको सजाय सुनाइएको थियो । पीडित परिवारले उनको मृत्युदण्डको सजाय माफी हुने सम्बन्धमा बदलाकै कठोर भाव राखेपछि साउदीको आन्तरिक मन्त्रालयले मृत्युदण्डको फैसलालाई कार्यान्वयन गरेको छ । स्थानीय अदालत, पुनरावेदन र सर्वोच्च अदालतले साउदी नागरिक ओदा विन अऐदा विन हमोद अल सरारीको हत्यामा दोषी ठहर गर्दै सन्तबहादुरलाई मृत्युदण्डको फैसला गरेको थियो । त्यसलाई रोयल कोर्टले समेत अनुमोदन गरेपछि मृत्युदण्डको फैसला कार्यान्वयन भएको हो ।

२०५४ सालमा साउदी अरेबियामा कृषि काममा पुगेका सन्तबहादुरले  भेडा चराउन जाने क्रममा भएको हत्याको घटनाको कारण मृत्युदण्डसम्मको सजाय पाएका हुन् । भेडा चराउन गएका उनलाई एक जनाले दैनिक आएर भेडा माग्न थालेपछि भएको विवादका क्रममा चक्कु प्रहार गर्दा हत्याको घटना घटेको थियो । यसैगरी गत वर्ष नोभेम्बरमा पनि उदयपुरका विवेक दाहाललाई मृत्युदण्डको सजाय दिइएको थियो । १५ वर्षदेखि साउदी अरबको जेलमा रहेका उदयपुरका विवेक दाहाललाई मृत्युदण्डको सजाय दिइएको थियो । त्यहाँको जुवेल जेल प्रशासनले गत वर्ष कार्तिक ६ गते दाहाललाई मृत्युदण्डको सजाय कार्यान्वयन गरेको थियो । दूतावासलाई समेत जानकारी नदिई उनीलाई मृत्युदण्डको सजाय दिएको र शव साउदीको जमिनमा गाडिएको थियो ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस