२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

पशुपति क्षेत्रको पुरातात्विक परशुराम मूर्ति बेल्जियमको लिलामी गृहमा

काठमाडौँ । पशुपति परिसरबाट ४० वर्षअघि चोरिएको ११ औं शताब्दीको परशुराम प्रतिमा बेल्जियमको एक लिलामी गृहमा पाइएको छ । युरोपभर अनलाइन सामान खरिदबिक्री गर्ने ‘काटाविकी अक्सन’ मा २०२० नभेम्बरमा यो सम्पदा बिक्री भएको पाइएको छ ।

चोरिएका वा हराएका सम्पदाको खोजबिन र घरफिर्तीमा सक्रिय ‘लस्ट आर्टस् अफ नेपाल’ अभियानका अनुसार, पशुपतिनाथ क्षेत्रको रुद्ररागारेश्वरबाट २०४० सालतिर चोरिएको यो विशिष्ट सम्पदाका बारे कला अन्वेषक लैनसिंह वाङ्गदेलले पनि आफ्नो कृति ‘स्टोलन इमेजेज अफ नेपाल’मा उल्लेख गरेका छन् ।

अर्का स्वीस कलाविद् उल्रीच भोन स्क्रोडरले आफ्नो कृति ‘नेप्लीज स्टोन स्कल्प्चर’मो यो पुरातात्विक प्रतिमाको तस्बिर राखेका छन् । यो प्रतिमाको पुष्पमान चित्रकारले २०३६ सालमा खिचेको तस्बिरलाई स्क्रोडरले आफ्नो कृतिमा संकलन गरेका हुन् । बैंककमा बस्ने सम्पदाप्रेमी विद्यार्थी निश्चल श्रेष्ठले चोरी भएको परशुराम प्रतिमाको बेल्जियम लिलामी गृहमा रहेको आधार तथा प्रमाण पहिल्याएको लस्ट आर्टस् अफ नेपालले बताएको छ । अन्वेषक वाङ्गदेलले प्रतिमाको व्याख्यामा भनेअनुसार, परशुरामले आफ्नो देब्रे हातमा पानीको भााडो र दाहिनेमा फूलमाला लिएका छन् ।

पशुपतिनाथ क्षेत्रका ज्ञाता डा.गोविन्द टण्डनका अनुसार, रुद्ररागारेश्वरमा रहेको परशुराम मूर्ति एकाएक हराएपछि त्यसबारे सरोकार राख्दै आफूले धेरै ठाउँमा सोधपुछ गरेको बताए । उनका अनुसार, राजा महेन्द्रले २०१७ सालतिर गठन गरेको उपत्यकान्चल तात्कालीक सुधार समितिमार्फत उपत्यकाका धेरै मठमन्दिरको संरक्षण–संवर्द्धन गरिएकोमा बनकाली, गुहेश्वरी क्षेत्रका सम्पदा पनि विशेष संरक्षण तथा जीर्णोद्धारमा परेका थिए । त्यसबेला रुद्ररागारेश्वरको परशुराम पनि थप मर्मतसम्भारमा परेको थियो । ‘तर, २०४० सालपछि यो मूर्ति त्यहाँ देखिन छाडेको थियो । आज आएर हाम्रो मूर्ति बेल्जियमको लिलामी गृहमा पुगेको रहेछ भन्ने सुन्दा म अचम्मित भएको छु,’ डा.टण्डनले भने ।

 

 

प्रकाशित मिति : २०८० असोज १० गते बुधवार
प्रतिक्रिया दिनुहोस