२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

देशलाई नराम्रो गर्नेलाई के को सवारी, त्यस्ताले आउँदा-जाँदा दमकल चढे भइहाल्यो -हरिवंश आचार्य

काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले विशिष्ट व्यक्तिहरुले सवारीको नाममा नागरिकलाई सास्ती दिने कुराको अन्त्य हुनुपर्ने बताएका छन्। आइतबार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अहिले पनि विशिष्ट व्यक्तिहरुको सवारीको नाममा दिनभर सडक अस्तव्यस्त पार्ने परम्परा रहेको भन्दै त्यसको विरोध गरे। उनले सवारीलाई ठूलो दर्जा दिइएको भन्दै सवारी गर्न रहर हुनेले दमकलमा बसेर जान सल्लाह दिए।

उनले भने, ‘कहिले काहीँ यस्तो लाग्छ की, अरुले त भन्न मिल्दैन होला, मैले भन्न मिल्छ। हाम्रो देशमा ठूला ठूला मान्छेहरुले सवारी रे। सवारी पहिला पहिला राजा महाराजाको पालामा सरकारको सवारी हुन्छ भन्ने चलन थियो। तर अहिले पनि त्यो सवारीलाई सवारी नै भनिन्छ। त्यसलाई त्यति ठूलो दर्जा दिइएको छ की कुनै ठूलो मान्छे विदेश गएर आउनुभयो वा कुनै समारोहमा जानुपर्छ भने काठमाडौं उपत्यकाको ट्राफिक सिस्टम अस्तव्यस्त हुन्छ, बिहानदेखि मानिसलाई रोकेर राखेर सवारी गर्नुपर्छ। भित्रभित्रै रिस उठ्छ। सवारी रे । बिहानदेखि बेलुकासम्म अस्तव्यस्त हुनेकुरा। यसलाई पनि करेक्शन गर्नुपर्छ।

देशका लागि राम्रो नगर्नेलाई सिठ्ठी फुकेर सवारी, त्यस्ताले त आउँदा जादा दमकल चढे हुने, एम्बुलेन्स नै चढे हुने आचार्यले भने । उनले सार्वजनिक यातायातको विकास नभईकन कुनै पनि देशमा जनताले सुख नपाउने बताए। उनले राज्यले पब्लिक ट्रान्सपोर्टेशनमा बढी लगानी गर्नुपर्ने भए पनि नेपालले सर्वजनिक बसमा लगानी गर्न नसकेको बताए। उनले देशमा बसस्टप नै नभएको भन्दै त्यतातर्फ पनि सरकारले ध्यान दिनुपर्ने बताए। उनले विरोध गर्ने ठाउँ टुँडिखेलमा ताल्चा मारेर राख्नु नहुने बताए।

प्रकाशित मिति : २०८० असोज १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस