२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

सौराहामा विदेशी पर्यटकले मनाए दसैँ, टीका र जमरा थाप्न पाउँदा दङ्ग

Dashain was celebrated by foreign tourists in Sauraha nepal

काठमाडौं । चितवनको पर्यटकीय नगरी सौराहा घुम्न आएका विदेशी पर्यटकले दसैँ मनाएका छन्। हिन्दुहरूको विशेष चाड बडादसैँमा नेपाली संस्कृतिको बारेमा बुझ्दै विदेशी पर्यटकले सौराहाको होटल सपना भिलेजमा टीका र जमरा थाप्दै दसैँ मनाएका हुन्।

सपना भिलेजका प्रबन्ध निर्देशक धुव्र गिरी, बुबा ८६ वर्षीया मनु गिरी र उनकी श्रीमती वर्षा पुरी (गिरी)ले विदेशी पर्यटकलाई टीका र जमरा लगाइदिए। उनीहरूसँगै क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरी, रेवान सौराहाका अध्यक्ष नरेश गिरी, पूर्व अध्यक्ष गोकर्ण गिरीसहितले पालैपालो टीका र जमरा लगाउँदा पर्यटक दङ्ग देखिन्थे।

नेदरल्यान्डदेखि सौराहा घुम्न आउनभएका २६ वर्षीय पर्यटक डेविट राईट यस पटक टीका र जमरासँगै नेपालीको दसैँ मनाउन पाउँदा निकै खुसी देखिन्थे। ‘मैले नेपाल घुम्न आउँदा नेपाली परम्परामा रमाएको कुरा सुनेको मात्र थिएँ, तर आज सौराहा आएर टीका र जमरा लगाएर दसैँ मनाएको छु, धन्यवाद नेपाली’, उनले भने।

अर्का पर्यटक २१ वर्षीया माइका पनि निकै हर्षित देखिन्थिन्। उनले आगामी वर्ष पनि नेपालमा आएर दसैँ मनाउने बताइन्। ‘विभिन्न देशका संस्कृति र परम्परालाई प्रत्यक्ष रूपमा अनुभव गर्न पाइने भएकाले चाडपर्वका बेला घुम्न आउँछु’, विदेशी पर्यटक माइकाले भनिन्।

चितवनको सौराहामा यतिबेला पर्यटकीय मौसम सुरू भइसकेको छ भने यहाँ आउने विदेशी पर्यटकलाई हरेक होटलले दसैँ मनाउने परम्परा बनाएका छन्। हरेक नेपाली चाडवाड बारेमा विदेशीलाई समेत पहिचान गराउन आफूहरुको मुख्य उद्देश्यलसमेत रहेको सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले बताए। ‘हामीले विगतमा पनि यसरी पर्यटकलाई दसैँमा सँगै राखेर मनाएका थियौँ’, उनले भने, ‘हाम्रो मौलिक संस्कृतिको संरक्षणमा एउटा कासेढुङ्गा सावित हुनेछ।’

नाकाबन्दी, नारायणगढ–मुग्लिन सडक र कोरोनाका कारण प्रायः विदेशी पर्यटकको सुनसान हुने सौराहामा यतिबेला विदेशी पर्यटकको घुइँचो लागेको छ। दसैँसँगै पछिल्लो तीन दिनयताको आँकडाअनुसार तेस्रो मुलुकका पर्यटकको सङ्ख्या ४० प्रतिशत, भारतीय २० प्रतिशत र १० प्रतिशत चिनियाँ पर्यटक रहेको क्षेत्रीय होटल सङ्घका अध्यक्ष गङ्गा गिरीले जानकारी दिइन्। पर्यटकलाई यहाँका वन्यजन्तु, बाघ, गैँडा, हिमाल र पहाडले मात्र तान्दैन, दसैँ, तिहारलगायत चाडबाडले पनि आकर्षित गर्ने गरेका छन्। विदेशीलाई दसैँको माहोल विशेष लाग्ने गर्छ। जमरा, टीका र चङ्गा चेटमा उनीहरू रमाउने गरेका छन्। रासस

 

प्रकाशित मिति : २०८० कार्तिक ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस