२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

प्रधानमन्त्रीको टोलीमा छैन लावालस्कर, मात्र स्वास्थ्यकर्मी र औषधि बोकेर आफै फिल्डमा

१८ कात्तिक, काठमाडौं । शुक्रबार रातिको जाजरकोट भूकम्पमा ठूलो जनधन क्षति भएको थापा पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्यको निकाय परिचालनका अतिरिक्त आफ्नो व्यक्तिगत सक्रियता पनि देखाएका छन् । प्राकृतिक विपद्का बेला सरकारको प्रमुख आफैं सक्रिय हुँदा नागरिकमा भरोसा जागृत हुने ठानेर उनी शनिबार बिहानै भूकम्पका मुख्य प्रभावक्षेत्र जाजरकोट हुँदै रुकुम उडे ।

प्रधानमन्त्रीले अरु नियमित भ्रमणमा जस्तो सचिवालयका सदस्य, सल्लाहकार, सुरक्षाकर्मी लगेका छैनन् । भूकम्पपीडित, घाइते आदिका लागि तत्कालै चिकित्सा सहयोग पुगोस् भनेर डाक्टर, स्वास्थ्यकर्मीहरु र औषधी लगेर गएको प्रधानमन्त्री सचिवालयको भनाइ छ । अरु भ्रमणमा जस्तो फोटोग्राफर लगायत टिम कोही पनि नगएको, केवल स्वास्थ्य टोलीमात्रै गएको बालुवाटारले जानकारी दियो ।

‘उद्धार, राहतलगायत तत्कालै गर्नुपर्ने काम अझै प्रभावकारी हुन सकोस् भनेर सिंगो टिमको परिचालनमा सहयोग तथा निर्देशनका लागि प्रधानमन्त्रीज्यु जानुभएको हो,’ प्रधानमन्त्री सचिवालयका एक सदस्यले भने, ‘तत्काल आवश्यकतापूर्तिका लागि डाक्टर र स्वास्थ्यकर्मी आफैं लगेर जानुभएको छ । अरु टोली पनि पठाउने काम हुँदैछ । संघ, प्रदेश, स्थानीय तीनै तहका सरकारलाई आपसमा समन्वय गर्ने तथा सुरक्षाकर्मीलगायत अरु निकायसँग चुस्त समन्वय मिलाउने काम प्राथमिक हो ।’

जाजरकोटबाट प्रतिनिधित्व गर्ने सांसद तथा ऊर्जामन्त्री शक्ति बस्नेत, रुकुमबाट प्रतिनिधित्व गर्ने माओवादी नेता जनार्दन शर्मा, कांग्रेस नेता राजीवविक्रम शाह टोलीमा सहभागी छन् । कतिपय राजनीतिक कार्यकर्ता तथा सर्वसाधारणले प्रधानमन्त्री प्रकोपका बेला पर्यटन गर्न गएको भन्दै आलोचना गरिरहेका छन् । उनीहरुले यस्तो बेला आफ्नो टिम, सेना प्रहरीको लावालस्कर लगाएर हिंड्ने होइन भन्दै सामाजिक सन्जालमार्फत् सुझाव दिएका छन् ।

 

 

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस