२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

गायक सुगमले भने भूकम्पमा ज्यान गुमाउनेप्रति माैन धारण नमानेपछि दर्शकलाई माइकले हाने, क्षमा चाहान्छु

काठमाडौं । गायक सुगम पोखरेलले अष्ट्रेलियाको एडिलेडमा दर्शकलाई माइक प्रहार गरेको बारे प्रतिक्रिया दिएका छन्।

सुगमले सामाजिक सञ्जालमा एक भिडिओ पोस्ट गर्दै नेपालमा भूकम्पबाट मृत्यु भएकाहरुको नाममा मौन धारण गर्न आग्रह गर्दा दर्शकले नगरेपछि उक्त घटना भएको जानकारी दिएका छन्।

पोखरेलले भनेका छन, ‘अष्ट्रेलियाको एडिलेडमा भएको घटना अहिले भाइरल भएको रहेछ। हाम्रो नेपाली समाज यति संवेदनहिन भएको हो। अहिले भुइँचालोका कारण देशलाई दुखिरहेको छ। नेपाली कलाकार भएको हुँदा देशलाई दुख्दा मलाई पनि दुख्छ। हिजोको कार्यक्रममा मौन धारण गरौं भन्दा के भयो त्यो तपाईहरूले भिडिओमा देख्न सक्नुहुन्छ। मेरो क्रियाको प्रतिक्रिया त्यसकै कारणले मात्र थियो। कसैको नेपाली मनलाई चित्त दुखाएँ भने क्षमा चाहन्छु। तर जहिले पनि संगीतको सेवा गर्नेछु।’

अष्ट्रेलियाको एडिलेडमा शनिबार आयोजित कन्सर्टमा गायक सुगमले फ्यानलाई माइक प्रहार गरेका थिए। अहिले उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

भिडिओ अनुसार उनले नेपालमा जाजरकोटलाई केन्द्र बिन्दु बनाएको गएको भूकम्प र त्यहाँ ज्यान गुमाउने नेपालीप्रति मौन धारण गर्न दर्शकलाई अनुरोध गर्छन्। तर सुगमले मौन धारण गर्न अनुरोध गरिरहँदा पनि हुटिङ आइरहन्छ।

त्यसपछि उनी स्टेजबाट तल झर्छन्। स्वयंसेवकले रोक्दा रोक्दै उनले ती दर्शकलाई माइकले झट्टी हान्छन् र गालीगलौज गर्छन्। उनलाई त्यहाँबाट निकालेर फेरि स्टेजमा लगिन्। फेरि पनि सुगमले अर्को माइल दर्शकतिर हान्छन्। त्यसपछि भने उनलाई स्टेजबाट बाहिर लगिन्छ।

प्रकाशित मिति : २०८० कार्तिक १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस