२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

बिरामीको स्वास्थ्यमाथि गम्भीर खेलबाड : जुकाको औषधि माग्दा अर्कै दिने स्वास्थ्यकर्मी

ask for leprosy medicine Health workers give something different

धनगढी । डोटीको एक स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले लापरबाही गर्दै आएको आरोप लागेको छ। जिल्लाको दीपायल–सिलगढी नगरपालिका–८ मा रहेको लडागडा स्वास्थ्य चौकीका कर्मचारीले औषधि वितरणमा लापरबाही गरेका हुन्। स्थानीय गणेशबहादुर साउँदले बिहिवार स्वास्थ्यकर्मीबाट जुकाको औषधि मागेकोमा ग्यास्टिकको औषधि दिएको गुनासो गरे। शेरबहादुर कुन्जेडाले दिएको औषधि फरक परेको साउँदले बताए। उनीसँगै मानबहादुर र रामबहादुर साउँदलाई दिएको औषधिसमेत फरक परेको छ।

रामबहादुर साउँदलाई दिइएको औषधि पनि फरक परेको हो। केही दिनअघि गर्भवती महिलालाई स्वास्थ्य चौकी बन्द रहेको भन्दै फर्काएको एक स्थानीयले बताए। स्थानीय गणेश साउँदले स्वास्थ्य चौकीबाट यो भन्दा पहिला पनि यस्ता घटना घटेको बताए। नागरिकको ज्यान नै जोखिममा पर्ने गरी सेवाग्राहीलाई औषधि दिइनु जोखिम रहेको उनको गुनासो छ। उनले भने, ‘अस्ति गाउँका एक जनालाई झाडापखाला लाग्दा पनि अर्कै औषधि दिइएको थियो। यो सरासर नागरिकको स्वास्थ्यमाथिको खेलबाड हो।’ कहिले स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नभेटिने तथा कुनै दिन कार्यालय समय भन्दा अगाडी नै बन्द समेत हुने गरेको छ।

स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष तथा वडाअध्यक्ष दशरथ बलायरले यस्तो कार्यबाट बाहिर गलत सन्देश गएको बताए। औषधि अर्कै दिइएको गुनासो आफूकहाँ आउँदा औषधि दिने स्वास्थ्यको कर्मचारीलाई बुझेको र त्यो सानो समस्या मात्रै भएको उत्तर पाएको उनले तर्क गरे। बिरामीहरूलाई दिइएको औषधि खादा खास्सै साइड इफेक्ट नपर्ने ल्याबका कर्मचारीसमेत रहेका शेर कुञ्जेडाले वडाअध्यक्ष बलायरलाई बताएका हुन्। स्वास्थ्य चौकीका इन्चार्ज नरेश बोहराको मोबाइल फोन बन्द छ।

 

प्रकाशित मिति : २०८० कार्तिक २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस