२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

दुर्गा प्रसाईंका स्वकीय सचिव थापा, श्रीनिवास आचार्यसहित ८ जनामाथि अनुसन्धान गर्न म्याद थप

Extension of time to investigate 8 persons including Sriniwas Acharya

काठमाडौं । गौशालामा प्रहरीमाथि ढुंगा प्रहार गरेको आरोपमा पक्राउ परेका ८ जनाविरूद्ध म्याद थप भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार गौशालामा प्रदर्शन गर्नेक्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा १५ जनालाई पक्राउ गरेको थियो। जसमध्ये ८ जनाविरूद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरिएको परिसर प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए।

दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापा, श्रीनिवास आचार्यसहित ८ जनाविरूद्ध म्याद थप भएको हो। निकेश बाँस्तोला, सुजन खड्‍का, मेहरमान बस्नेत, दिपेश खड्का, अनिल गुरूङ र मनोज थापामाथि अनुसन्धान गर्न म्याद थप भएको हो। उनीहरूविरूद्ध सार्वजनिक शान्तिविरूद्धको कसुर र अभद्र व्यवहार मुद्दामा म्याद थप भएको प्रहरीले जनाएको छ।

अदालतले श्रीनिवास, मनोज, विनञ्जय र निकेशलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ भने अरूलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।

मंसिर ७ गतेदेखि मेडिकल व्यवसायी प्रसाईंले काठमाडौंका विभिन्न स्‍थानमा प्रदर्शन गर्दै आएका छन्। सोमबार गौशालामा प्रदर्शन गर्ने क्रममा पनि प्रहरीसँग झडप भएको थियो। प्रहरीले भीडलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गरेको थियो। प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेको थियो। त्यसक्रममा प्रहरीसहित ३८ जना घाइते भएको परिसरले जानकारी दिएको छ।

 

प्रकाशित मिति : २०८० मङ्सिर १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस