२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

९५ क्विन्टल अन्न प्रयोग गरेर बनाइयो सीतारामको प्रतिमा, भारतको रेकर्ड तोडियो

An idol of Sitaram was made using 95 quintals of grain

लक्ष्मी चौधरी, जनकपुरधाम । विश्व कीर्तिमानी सीतारामको प्रतिमा तयार पार्ने कार्य सम्पन्न भएको छ। जनकपुरधाममा पहिलो पटक अन्नबाट ११ हजार ११ वर्ग फिटको सीतारामको प्रतिमा तयार पारिएको हो।

जनकपुरधामस्थित रंगभूमि मैदान (बाह्र बिघा) मा सोमबारदेखि बनाउन सुरु गरिएको श्री सीतारामको प्रतिमा शुक्रबार साँझ सम्पन्न भएको थियो । उक्त प्रतिमा पूर्ण रूपमा तयार भएपछि जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले औपचारिक रूपमा रिबन काटेर प्रतिमा उद्घाटन गरे ।

प्रतिमा सुरक्षामा जनकपुरधामका नगर प्रहरी खटिएका छन् भने उक्त सुरक्षा घेराभित्र रहेर तीन दिन हिजो शनिबार, आज आइतबार र भोलि सोमबारसम्म हेर्न पाइने र मंगलबारदेखि प्रतिमा प्रयोग भएका अन्न उठाइने उपमहानगर प्रमुख साहले जानकारी दिए । एक सय दुई क्विन्टल अन्नको प्रयोग गरिने अनुमान गरिए पनि सीतारामको उक्त प्रतिमा निर्माणमा ९५ क्विन्टल ११ प्रकारका अन्न प्रयोग भएको छ। प्रतिमामा अन्न थप्ने कार्य पनि जारी रहेका कारण थप अन्न प्रयोग गरिने प्रतिमा निर्माण समितिका सदस्य तथा उद्योग वाणिज्य सङ्घ जनकपुरधामका कोषाध्यक्ष परमेश्वर साहले बताए ।

सोमबारबाट सुरु गरिएको प्रतिमा निर्माण कार्य पाँच दिनमा सम्पन्न भएको प्रतिमा निर्माणमा लागेका प्रमुख कलाकार सतिश गुर्जरले बताए । प्रत्येक वर्ष जनकपुरधाममा हुने विवाह पञ्चमीको अवसर पारेर धार्मिक ऐतिहासिक सहर जनकपुरधामलाई विश्वभर चिनाउन विश्व कीर्तिमान कायम गर्न ११ प्रकारका अनाज प्रयोग गरेर २१ लाख २३ हजार रुपियाँको लागतमा प्रतिमा बनाउन लागिएको समितिका संयोजक जितेन्द्र महासेठले जानकारी दिए ।

भारतमा बनाइएको प्रतिमाको रेकर्ड तोड्दै उक्त प्रतिमाले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा ठाउँ बनाउने विश्वास गरिएको छ। यसअघि भारत उत्तर प्रदेशको अयोध्यामा सोही आकारको प्रतिमा बनाएर रेकर्ड बनाएका कालाकारलाई नै बोलाएर जनकपुरधाममा प्रतिमा बनाइएको हो।

प्रकाशित मिति : २०८० पुष १ गते आइतवार
प्रतिक्रिया दिनुहोस