२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

धनगढी उपमहानगरले ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन गर्ने

Dhangadhi sub-metropolitan will conduct grassroots cricket development program

धनगढी । धनगढीमा ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन हुने भएको छ । धनगढी उपमहानगरपालिकाले ‘गो ड्रिमर्स’ को साझेदारीमा साझेदारीमा ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

कार्यक्रम सञ्चालनका लागि शुक्रबार धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । दुवै पक्षबीच उपमहानगरपालिकाका दुई नमूना विद्यालयमा ग्रासरुट लेभल क्रिकेट कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको मेयरको निजी सचिवालयले जनाएको छ ।

शैक्षिक गुणस्तर सुधार कार्यक्रमअन्तर्गत छनोट भएका धनगढी उपमहानगरपालिका–१२ जुगेडाको सिद्धनाथ माध्यमिक विद्यालय र वड नम्ब १८ को चन्द्रोदय माध्यमिक विद्यालय फुलबारीमा कार्यक्रम सञ्चालन गरिने भएको छ । साझेदारी पत्र आदानप्रदान गर्दै मेयर हमालले नमूना विद्यालयमा क्रिकेटको नर्सरी विकास गर्नका लागि ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन गर्न लागेको बताए ।

‘विगतदेखि नै धनगढीलाई क्रिकेटको सहरका रुपमा स्थापित गर्न अग्रसर भएका सुवाश शाहीको टिमसँग क्रिकेट विकास कार्यक्रमको सम्झौता गरेका छौं,’ हमालले भने, ‘नयाँ प्रतिभालाई उत्पादन गर्ने लक्ष्यका साथ हामीले उहाँसँग साझेदारी गरेका हौं । यो कार्यक्रम नमूना स्कुलमा क्रिकेटको नर्सरी तयार गर्ने समझदारी हो । क्रमिक रुपमा अन्य विद्यालयमा पनि यो कार्यक्रम लागु गर्दै जान्छौँ । गो ड्रिमर्सका अध्यक्ष शाहीले धनगढीबाट अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ ग्रासरुट क्रिकेट विकास कार्यक्रम सुरु गरिएको बताए । शाहीले उक्त कार्यक्रमलाई प्रभावकारी हुनेगरि कार्यान्वयनमा लैजाने बताएका छन् ।’

 

प्रकाशित मिति : २०८० माघ ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस