२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

कटन क्याण्डीमा अखाद्य रंग, नखान सरकारको आग्रह

Non-edible coloring in cotton candy

८ माघ, काठमाडौं । मेला महोत्सव वा बजारमा घुम्न गएको बेला कटन क्याण्डी बेच्न तपाईका केटाकेटी वरिपरी झुम्मिनेहरुको भीड देख्नुभएको होला । अत्याधिक गुलियो, ठूलो र आकर्ष देखिँदा बच्चालेपनि नकिनेसम्म हैरान नै गर्ने गरेकै हुन्छन् । यस्तो खाने अथवा खुवाउने गर्नु भएको छ ? यदि छ भने त्यो काम बन्द गर्नुस् । किनकि कटन क्याण्डीमा अखाद्य रंग प्रयोग हुने गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार खुल्ला रुपमा बिक्री वितरण भइरहेको रंगिन कटन क्याण्डी मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने अखाद्य रंग रोडामाइन बी प्रयोग भएको पाइएको छ । विभागको प्रयोगशालामा कटन क्याण्डीको नमूना परीक्षण गर्दा हानीकारक रंग रोडामाइन बी प्रयोग भएको पाइएको हो ।

त्यसैले विभागले सूचना जारी खुल्ला रुपमा बिक्री वितरण गरिएको कटन क्याण्डीको उपभोग नगर्न तथा आफ्ना बालबालिकाहरुलाई समेत नदिन अनुरोध गरेको छ । साथै अखाद्य रंगको प्रयोग गरी कटन क्याण्डी उत्पादन तथा बिक्री वितरण नगर्न नगराउन पनि विभागले भनेको छ । यदि यो निर्देशनको पालना नभएमा खाद्य ऐन नियम बमोजिम कारबाही गर्ने विभागले चेतावनी दिएको छ ।

रोडामाइन बी एक केमिकल हो । खाद्य पदार्थको रंग परिवर्तन गर्न, सौन्दर्यका प्रशाधन, आतसबाजी, कालो मरिच लगायतका मसला लगायतमा पनि उपयोग हुने गरेको छ । यसको सेवनले कलेजो र मिर्गौलाको क्यान्सरको जोखिम हुने चिकित्सकहरु बताउँछन् ।

 

प्रकाशित मिति : २०८० माघ ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस