२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

वाफ महिला च्याम्पियनसिप : साम्बाको ५ गोलमा नेपाल एक खेल अघि नै सेमिफाइनलमा

WAF Women's Championship Samba's 5 goals put Nepal in the semi-finals with one match left

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारी साम्बाले ह्याट्रिकसहित ५ गोल गरेपछि नेपाल साउदी अरबमा जारी वाफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको नेपालले अब समूह चरणको अन्तिम खेलमा शनिबार प्यालेस्टाइनसँग खेल्ने तालिका छ। बिहीबार राति किङ अब्दुल्लाह स्पोर्टस् सिटीमा भएको खेलमा इराकमाथि ५–० को फराकिलो जित निकाल्दै नेपाल एक खेलअगावै सेमिफाइनलमा पुगेको हो।

नेपालको जितमा सबै गोल साम्बाले गरिन्। राष्ट्रिय टोलीबाट ५० अन्तराष्ट्रिय गोल गर्न साम्बा अब एक गोल मात्र टाढा छिन्। साम्बाले ४४ अन्तराष्ट्रिय खेलमा ४९ गोल गरेकी छिन्। पहिलो हाफमा ४–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा १ गोल थप्यो।

खेलको सातौँ मिनेटमा सावित्रा भण्डारीको क्रसमा रेखा पौडेलको प्रहार पहिलो बारको नजिकबाट बाहिरिँदा नेपालले अग्रता बनाउने सुन्दर मौका गुमायो। त्यसअघि एघारौँ मिनेटमा सावित्रा भण्डारीको फ्री किक प्रहार आकाशियो। खेलको १४ औँ मिनेटमा साम्बाको गोलमा नेपालले सुरुआती अग्रता बनाएको थियो।

१७ औँ मिनेटमा साम्बाको व्यक्तिगत दोस्रो गोलमा नेपालले अग्रता दोब्बर पार्‍यो। साम्बाले इराककी गोलरक्षकले रिलिज गरेको बल डिफेन्डरबाट खोस्दै गोल गरेकी थिइन्। ३७ औँ मिनेटमा पूजा रानाको क्रसमा साम्बाले हेडर गोल गर्दै ह्याट्रिक पूरा गरिन्। खेलको ४३ औँ मिनेटमा सावित्राले व्यक्तिगत चौथो गोल गर्दा नेपालले पहिलो हाफमा नै ४–० को अग्रता बनाउन सफल भयो।

दोस्रो हाफमा केही आक्रमण बुने पनि नेपालले धेरै गोल संख्या थप्न सकेन। खेलको ८० औँ मिनेटमा साम्बाले पाचौँ गोल गर्दा राष्ट्रिय टोलीका लागि ४९ औँ गोल गरिन्। इराकविरुद्धको खेलबाट फरवार्ड चन्द्रा भण्डारीले डेब्यु गरेकी छन्। ७९ औँ मिनेटमा रेखा पौडेलको स्थान लिँदै चन्द्राले राष्ट्रिय टोलीमा डेब्यु गरेकी हुन्।

प्रकाशित मिति : २०८० फाल्गुन १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस