२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

नेपालले आज हङकङसँग क्रिकेट खेल्दै

२६ फागुन, काठमाडौं । नेपालले आज एकमात्रै टी-२० आई खेलमा घरेलु टोली हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा मोंग कोकमा सुरु हुनेछ । नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी-२० आई सिरिज हुनुअघि यो खेल खेल्न लागेको हो ।

नेपाल युवा टोलीको साथ हङकङ गएको छ । नेपालका दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, आसिफ शेखलगायतका पहिलो रोजाइका खेलाडी छैनन् । हङकङ भ्रमण युवाहरुको लागि राम्रो अवसर हुनेछ । विवेक यादव र सन्दीप जोरा दुई फिनिसरमाथि नेपालले बढी ध्याान दिने देखिन्छ ।

युवा अलराउन्डर राशिद खानलाई पनि पहिलो रोजाइको टोलीमा पर्न यो राम्रो अवसर हुनेछ । कप्तान रोहित पौडेल, कुशल भुर्तेल र करण केसी नेपालका प्रमुख हतियार हुन् । यी तीन खेलाडीको प्रदर्शनमा नेपाल धेरै निर्भर हुनेछ । नेपालको मुख्य उद्देश्य नै युवा खेलाडीको क्षमता परीक्षण गर्ने हुनेछ । उता हङकङका दक्षिण अफ्रिकी मुलका मार्टिन कोट्जीले एक हप्ताअघि कतारविरुद्ध १०२ रनको शतकीय इनिङ खेलेका थिए । उत्कृष्ट लयमा रहेका कोट्जीको प्रदर्शन महत्वपूर्ण हुनेछ । कोट्जी, बाबर हायत, अंशुमन रथ र निजाकत खान प्रमुख ब्याटर हुन् । अनुभवी स्पिनर एहसान खान घातक बन्न सक्ने बलर हुन् । हरुन अर्शद र नसरुल्ला राना प्रमुख तीव्र गतिका बलर हुन् ।

नेपाल र हङकङबीच हालसम्म ७ टी-२० आई खेल भएका छन् । नेपाल ४ खेलमा विजयी हुँदा ३ खेलमा पराजित भएकोछ । गत अक्टोबरमा मुलपानी मैदानमा नेपालले दुवै खेलमा हङकङलाई ७९ रन र ६ विकेटले हराएको थियो । तर हङकङ घरेलु मैदान र कन्डिसनमा केही मजबुत हुनेछ । त्रिकोणात्मक सिरिजमा आइतबार हङकङ र मंगलबार पपुवा न्युगिनीसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके फाइनल र नभए तेस्रो स्थानको लागि हङकङ ए सँग बुधबार खेल्ने तालिका छ ।

नेपाली टोली

रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी (विकेट किपर), गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द, अविनाश बोहोरा ।

 

प्रकाशित मिति : २०८० फाल्गुन २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस