२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

रौतहटमा परीक्षा केन्द्रबाट निरीक्षकसहित ६ जना पक्राउ

6 people including inspector arrested from examination center in Rautahat

रौतहट । रौतहटको विभिन्न परीक्षा केन्द्रहरुमा हृवाट्सएपलगायत सामाजिक संजालमार्फत प्रश्नपत्रको गोपनियता भंग गर्ने, चिट चोराउनेजस्ता हर्कत गरेको आरोपमा प्रहरीले परीक्षा केन्द्रका निरीक्षकसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई बुधबार अदालतबाट म्याद थपेर थप अनुसन्धान थालेको छ ।

विभिन्न परीक्षा केन्द्रबाट चिट चोर्न प्रयोग भएका २ हजार २२८ थान मोबाइलसमेत प्रहरीले बरामद गरेको जनाएको छ । आफू परीक्षा निरीक्षकको रुपमा खटी चिट चोर्न लगाउने जस्ता कार्य गरी परीक्षाको मर्यादा भंग गरेको सूचना पाएलगत्तै प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठ, डीएसपी एलिजा गिरी र सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईं लगायतको टोलीले विभिन्न परीक्षा केन्द्रमा छड्के जाँच गर्दा चिट चोर्न प्रयोग भएका मोबाइल नम्बरहरु, प्रयोगकर्ता, संलग्न व्यक्तिहरुको पहिचान गरी खोजतलास गर्ने क्रममा निरीक्षकहरु पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी प्रवक्ता एवं डीएसपी एलिजा गिरीका अनुसार प्रश्नपत्रको गोपनीयता भंग गरेको आरोपमा राजदेवी नगरपालिका १ स्थित श्रीमावि पथराका प्रधानाध्यापक उतिचन्द्र यादवलाई पक्राउ गरिएको छ । परीक्षा निरीक्षकको रुपमा खटेर चिट चोराएको आरोपमा सरस्वती मावि पिपरा परीक्षा केन्द्रका परीक्षा निरीक्षक ललनराय यादव, पथरा बुधराम परीक्षा केन्द्रका निरीक्षक राम अमोदप्रसाद यादव, शंकर मावि सरमुझवा परीक्षा केन्द्रमा खटिएका अबधलाल राम र राकेशकुमार यादवलाई पक्राउ गरिएको डीएसपी गिरीले जानकारी दिइन् ।

सरस्वती मावि पिपरा परीक्षा केन्द्रमा प्रवेश गरी चिट चोराएको आरोपमा प्रहरीले राजपुर नगरपालिका १ का राम सोगारथ साहलाई पक्राउ गरेको छ । ‘पक्राउ परेकाहरुलाई शिक्षा ऐन, २०२८ को दफा १७ को उपदफा १ (क) अन्तर्गको कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेका छौं,’ डीएसपी गिरीले भनिन्, ‘एसईई परीक्षालाई मर्यादित बनाउनु पर्छ भन्ने दायित्व बोकेकाहरु चिट चोराउनमा लागेको पाइयो । परीक्षा केन्द्रका निरीक्षकहरुसमेत मोबाइल एप्स प्रयोग गरी चिट चोराउनमा सक्रिय रहेको परीक्षा अनुगमन समितिले फेला पारेको छ ।’

 

प्रकाशित मिति : २०८० चैत्र २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस