२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

यूएईसँग नेपाल ६ विकेटले पराजित, एसिया कप खेल्ने चाहना अधूरै

काठमाडौँ । यूएईसँग पराजित हुँदै नेपाली राष्ट्रिय क्रिकेट टोलीको एसीसी प्रिमियर कप यात्रा समाप्त भएको छ।  शुक्रबार भएको पहिलो सेमिफाइनलमा यूएईसँग ६ विकेटले पराजित भएसँगै नेपालको प्रिमियर कपको फाइनल खेल्ने सपना सकिएको हो।

यूएईसँगको हारले नेपालको एसिया कप खेल्ने चाहना पनि अधूरै रहेको छ। नेपालले अब टी–२० विश्वकपको तयारीका लागि घरेलु मैदानमा वेष्ट इन्डिजसँग पाँच खेलको टी–२० सिरिज खेल्नेछ।

नेपालले दिएको १ सय २० रनको सामान्य लक्ष्य यूएईले १६ बल अगावै ४ विकेटको क्षतिमा भेट्टायो।

नेपालका गुल्सन झाले २ विकेट लिए। सोमपाल कामी र ललित राजवंशीले समान एक विकेट झारे। यूएईका लागि लागि आलिसान सराफु ५१ रनमा नटआउट रहे। विष्णु सुकुमारनले २८ तथा सायद हैडरले १४ रन बनाए।

त्यसअघि ओमानको अल अमरेत क्रिकेट मैदान टर्फ १ मा यूएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १९ रनको योगफल तयार पारेको थियो।

यूएईविरुद्ध खराब ब्याटिङ गरेको नेपालका लागि सन्दीप जोराले अर्धशतक पूरा गरे। ३९ बलमा ४ चौका र २ छक्का मद्धतमा अर्धशतक पूरा गरेका सन्दीप मोहम्मद फारुकको बलमा क्याच आउट भए।

गुल्सन झा २० रन बनाउँदा क्याच आउट हुन पुगे। १६ बलमा १ चौका र १ छक्का हानेका गुल्सन जुनैद सिद्दीकीको बलमा क्याच आउट भए।

करण केसीले १७ रन थपे। १२ बलमा २ छक्का हानेका करण अलि नसिरको बलमा बोल्ड आउट भए। अन्य कुनै ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

ओपनर आशिफ शेख ८ रन बनाउँदा आउट भए। चौथो ओभरको तेस्रो बलमा अ‍ोपनर आशिफ एलबीडब्लु धरापमा परे। इनिङस्को पहिलो बलमा नै ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले चौथो ओभरमा अर्का ओपनरलाई गुमाएको थियो।

कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले समान ५ रन बनाउँदै आउट भए। नेपालले चौथो विकेटको रुपमा कुशल मल्ललाई गुमाएको थियो। ५ बलमा ३ रन बनाएका कुशल बसिर अहमदको बलमा बोल्ड आउट भए।

प्रकाशित मिति : २०८१ बैशाख ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस