२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

यादवको शतकमा हैदराबादमाथि मुम्बईको जित

Mumbai win over Hyderabad

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादलाई मुम्बई इन्डियन्सले ७ विकेटले पराजित गरेको छ। प्लेअफ सम्भावना बलियो बनाउने उद्देश्यमा रहेको हैदराबादलाई मुम्बईसँगको हारले झट्का लागेको छ।

वाङंखडे मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ र बनाएको थियो। जवाफमा उक्त लक्ष्य मुम्बईले १६ बल बाँकी हुँदै ३ विकेट गुमाएर पुरा गर्‍याे। मुम्बईको जितमा सुर्यकुमार यादवले शतकीय इनिङ खेले।

खराब सुरुवातका बाबजुत यादव र तिलक वर्माले चौंथो विकेटका लागि १ सय ४३ रनको अविजित साझेदारी गरेका थिए। ३१ रनमा ३ विकेट गुमाएको मुम्बईका लागि यादवले ५१ बलमा १२ चौका र ६ छक्का प्रहार गर्दै १ सय २ रनको अविजित इनिङ खेले। उनलाई वर्माले ३२ बलमा ६ चौकाको सहयोगमा ३७ रनमा साथ दिए। जारी संस्करणमा यादवको भने यो दोस्रो शतक हो।

त्यसअघि पहिले ब्याटिङ गरेको हैदराबादका लागि ट्रेभिस हेडले ४८ रन बनाए। त्यस्तै, कप्तान प्याट कमिन्सले ३५ रन बनाउँदा नितिशकुमार रेड्डीले २० रन बनाए। मुम्बईका लागि हार्दीक पाण्ड्या र पियुष चाहलले ३-३ विकेट लिए।

जितसँगै मुम्बई इन्डियन्स अंक तालिकाको ९ औं स्थानमा पुगेको उक्लिएको छ। यद्यपि उसको प्लेअफ सम्भावना भने छैन। टोलीले १२ खेलमा ४ जित र ८ हारबाट ८ अंक जोडेको छ।

गुजरातको पनि समान अंक छ, तर कमजोर रनरेटका कारण टोली १० औं स्थानमा झरेको छ। बैंगलोर र पञ्जाबको पनि ८-८ अंक छ तर राम्रो रनरेटका कारण दुवै टोली मुम्बईभन्दा अगाडि छन्।

अर्कोतर्फ, हैदरावादले पछिल्ला ४ खेलमा तेस्रो हार बेहोरेको छ। उसको अब ११ खेलबाट ६ जित र ५ हारबाट १२ अंक छ। टोली चौंथो स्थानमा भएकाले छनोट हुन अन्तिम तीन खेल जित्नुपर्ने दबाब रहेको छ।

प्रकाशित मिति : २०८१ बैशाख २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस