२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

गैरकानूनी कार्य गरेको देखिएपछि वात्सल्य आईभीएफलाई कारबाहीको तयारीमा मन्त्रालय

काठमाडौं । नि:सन्तान दम्पतीको उपचार गर्ने भन्दै सञ्चालनमा आएको वात्सल्य नेचुरल आईभीएफले गैरकानूनी रुपमा शाखा विस्तार गरेको खुल्न आएको छ। काठमाडौंको नक्सालका लागि मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृति पाएको वात्सल्यले कानूनविपरित धमाधम शाखा विस्तार गरिरहेको फेला परेको हो।

जनस्वास्थ्य सेवा नियमावली अनुसार आईभीएफ सेवा सञ्चाल गर्न मन्त्रालयबाट अनिवार्य इजाजत लिनु पर्ने हुन्छ। यसका साथै यस्ता आईभीएफ सेन्टरले शाखा विस्तार गर्न पाउँदैनन्। तर वात्सल्यले भने कानून विपरित धमाधम शाखा विस्तार गर्दै हिँडिरहेको छ। वात्सल्यले कानूनलाई चुनौती दिँदै चितवनमा नयाँ शाखा विस्तार गरेको सार्वजनिक गरेको छ। वात्सल्यका कार्यकारी निर्देशक प्रशान्त सुवेदी र पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठले संयुक्त रुपमा आइतबार चितवन शाखा उद्घाटन गरेका छन्।

आईभीएफ सेवा सञ्चालनको स्वीकृति दिने र नियमन गर्ने मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा मदन उपाध्याय वात्सल्यले यसरी शाखा विस्तार गर्न नमिल्ने बताउँछन्। ‘कानून अनुसार आईभीएफ सेन्टरले शाखा विस्तार गर्न पाउँदैनन्,’ उनले भने, ‘अहिले वात्सल्यले जहाँ जहाँ शाखा विस्तार गरेको भनिएको छ। कानून अनुसार त्यो काम गर्न मिल्दैन।’

उनले हालको कानून अनुसार वात्सल्यले शाखा विस्तार गरेको विषयमा कारबाही प्रक्रिया अगाडि बढाइने जानकारी दिए। ‘मौजुदा कानून अनुसार कारबाही प्रक्रिया अगाडि बढाउँछौं,’ डा उपाध्यायले भने। वात्सलस्यले भने अहिले चितवनमा र यसअघि भक्तपुरमा शाखा विस्तार गरिसकेको छ। वात्सल्यका कार्यकारी निर्देशक सुवेदी भने कानूनलाई चुनौती दिँदै निकट भविष्यमै बुटवल, पोखरा, बिराटनगर जस्ता स्थानमा पनि सेवा विस्तार गर्ने योजना रहेको बताउँछन्।

प्रकाशित मिति : २०८१ बैशाख ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस