२०८३ साउन १४ गते बिहिवार | 2026 July 30th Thursday

नेपालले हार्दा मेरो व्यक्तिगत एक सय विकेट पनि व्यर्थ भयो: सन्दीप लामिछाने

५ असार, काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेशसँग हार हुँदा आफूले एक सय विकेट लिए पनि व्यर्थ लागेको बताएका छन्। सोमबार बिहान वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको थियो।

खेलपछि बोल्दै सन्दीपले टोलीको हारका कारण आफ्नो कीर्तिमानको खासै महत्व नरहेको बताए। उनले भने, ‘दुई महत्त्वपूर्ण विकेट हात पार्दा हामी बलियो स्थितिमा थियौँ। तर खेल आफ्नो पक्षमा आउन नसक्दा भने आफ्नो विकेट पनि व्यर्थ भएजस्तो महसुस भएको छ। हाम्रो ब्याटिङ हेर्दा निकै दुःख लागेको छ। किनकि याे जित्नुपर्ने खेल थियो।’

उनले नेपालमा रहेका समर्थक पनि आफूहरूको प्रदर्शनबाट खुसी नभएको प्रतिक्रिया दिए। ‘हामीले यसलाई मनदेखि लिएर आउँदा दिनमा यस्तो अवसर आए सदुपयोग गर्ने प्रण गर्नेछौँ,’ उनले भने। मैदानमा फर्कन पाउँदा एकदम राम्रो लागेको बताएका सन्दीपले अमेरिकामा सम्पन्न विश्वकपका खेलमा सहभागी हुन नपाउँदा दु:ख लागेको पनि बताएका छन्।

सो खेलमा सन्दीपले चौधौँ ओभरको दोस्रो बलमा तान्जिम अल हसनलाई ३ रन बनाउँदा बोल्ड आउट गर्दै ९९ विकेट लिएका थिए। १६ औँ ओभरको तेस्रो बलमा बंगलादेशका जाकर अलीको विकेट लिर्दै सन्दीपले टी–२० आईमा १ सय विकेट पूरा गरेका थिए। सन्दीपले ५४ खेलमा यो उपलब्धि पूरा गर्दै सर्वाधिक छीटो सय विकेट लिने दोस्रो खेलाडी बने। यसअघि ५३ खेलमा अफगानिस्तानका राशिद खानले सर्वाधिक छिटो १ सय विकेट लिएका थिए।

 

प्रकाशित मिति : २०८१ असार ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस