२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

दीपेन्द्र र सन्दीपको उत्कृष्ट प्रर्दशनका बाबजुद भ्यानकुभर नाइट्सको तेस्रो हार

काठमाडौं । ग्लोबल टी-२० लिगअन्तर्गत आइतबार राति भएको खेलमा मन्ट्रियल टाइगर्ससँग भ्यानकुभर नाइट्स १० रनले पराजित भएको छ। नेपाली टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानले उत्कृष्ट प्रदर्शन गर्दा गर्दै भ्यानकुभर नाइट्सले लगातार तेस्रो खेलमा पराजय बेहोरेको हो ।

मन्ट्रियल टाइगर्सले दिएको १४५ रनको लक्ष्य पछ्याएको भ्यानकुभर नाइट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३४ रन मात्रै बनाउन सक्यो । मन्ट्रिल टाइगर्सको भने यो लगातार दोस्रो जित हो । उसले बंगला टाइगर्सलाई ३३ रनले पराजित गरेको थियो ।

भ्यानकुभर नाइट्सका रिजा हेन्ड्रिक्सले सर्वाधिक ३४ रन बनाए । ड्वेन प्रिटोरियस ३१ र हर्ष ठाकर १८ रनमा आउट हुँदा दीपेन्द्र ३० र सन्दीप एक रनमा अविजित रहे। मन्ट्रियल टाइगर्सका आयन अफजल खानले सर्वाधिक तीन विकेट लिए। पहिला ब्याटिङ थालेको मन्ट्रियल टाइगर्सले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४४ रन बनाएको थियो।

मन्ट्रियल टाइगर्सका दीलप्ररित बाजवा ३३, अजमातुल्लाह उमरजाई २७, टिम सेफर्ट १६ र क्रिस लिन १० रनमा आउट हुँदा कोर्बिन बोश ३५ र आयन अफजल खान १६ रनमा अविजित रहेका थिए। भ्यानकुभर नाइट्सका मोहम्मद अमिर र ड्वेन प्रिटोरियसले समान दुई विकेट लिए । जेरेमी गोर्डन र सन्दीप लामिछानेको नाममा समान एक विकेट रह्यो । भ्यानकुभर नाइट्स यसअघि टोरेन्टो नेसनलसँग आठ विकेट र बंगला टाइगर्स २२ रनले पराजित भएको थियो ।

 

प्रकाशित मिति : २०८१ साउन १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस