२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

राष्ट्रपति पौडेलले गरे नौ कन्याको पूजा

२५ असोज, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित शारदीय दुर्गा पूजाका अवसरमा आज नौ जना कन्याको विधिपूर्वक पूजा गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल, प्रथम महिला सविता पौडेलले नौ कन्याहरूको पूजा गरेका हुन् ।

नवरात्रमा दुर्गादेवीका नौ रूप शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि महागौरी र सिद्धिदात्रीको पूजार्चनासँगै ती देवीका प्रतीक मानेर राष्ट्रपति दम्पतीले नौ कन्याको पूजा गरेका हुन् । विजया दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा,पाचौँ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी र सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा गरिन्छ ।

विजया दशमीको पहिलो दिन एक वर्षकी कन्या, त्यसपछि क्रमशः २,३,४,५,६,७,८,९ वर्षकी कन्याको पूजा गरिन्छ । वैदिक सत्य सनातन हिन्दू धर्म शास्त्रमा वर्णित विधिअनुसार हरेक दिन कन्याहरुको पूजा गर्नुपर्ने भनिए पनि सजिलोका लागि अहिले महानवमीको दिनमा एकै पटक नवकन्याहरुलाई नवदुर्गाको प्रतिक मानेर पूजा गरिएको हो।

यसैक्रममा राष्ट्रपति पौडेलले आज महानवमीको दिन शितलनिवासमै नवकन्याहरुको पूजा गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असोज २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस