२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

लुम्बिनी लायन्सको पहिलो जित, चितवन ३३ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा लुम्बिनी लायन्सले पहिलो जित हासिल गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा भइरहेको लिगको आफ्नो पाँचौँ खेलमा आएर लुम्बिनीले पहिलो जित हासिल गर्दै प्लेअफ सम्भावना जीवितै राखेको हो ।

मंगलबार भएको १६ औँ खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ३३ रनले पराजित गरेको हो ।

चितवनले १६८ रनको चुनौती पछ्याउने क्रममा ८ विकेटको क्षतिमा १३४ रनमात्र बनाउन सक्यो ।

लुक बेन्केन्स्टेनले ३१, नर सार्कीले १२ बलमा अविजित रहँदै २२ तथा कप्तान कुशल मल्लले २० रन जोडे ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले १७ रन खर्चेर ४ विकेट लिए । त्यस्तै रामोन साइमन्डस्ले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले कप्तान रोहित पौडेललको कप्तानी इनिङ्समा ६ विकेटको क्षतिमा १६७ रन बनायो ।

अलराउन्डर रोहितले ५७ बलमा ८० रन बनाए । रोहितसँग मिलेर पाँचौँ विकेटका लागि ११४ रनको साझेदारी गर्ने क्रममा साद बिन जाफरले रनआउट हुनुपूर्व ३५ बलमा ५२ रन जोडे । चितवनका रिजन ढकालले ३ विकेट लिए ।

लगातार चार हारसहित सबैभन्दा कमजोर मानिएको लुम्बिनी पहिलो जितसहित पुछारबाट पाँचौ स्थानमा पुगेको छ ।

चितवन भने पराजित हुँदा ५ खेलबाट ६ अंकसहित तेस्रो स्थानमा छ ।

दुई अंकका पोखरा एभेन्जर्स, काठमाडौँ गुर्खाज र विराटनगर किंग्सलाई लुम्बिनीले उछिनेको छ ।

आजको दोस्रो खेलमा दिउँसो १ बजे कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्दै छन् ।

प्रकाशित मिति : २०८१ मङ्सिर २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस