काठमाडौं । सामाजिक सञ्जालमा भाइरल बनेकी बाजुराकी राधिका वादीको मृत्यु भएको छ। ४२ वर्षीया राधिका वादीको आईतबार बिहान कालिकोटको पलाता गाउँपालिका–४ स्थित सन्दीप होटेलको कटेजमा मृत्यु भएको हो।
राधिका र उनका जीवनसाथी जोग्गिरे वादीको जोडीको गीत र मादलको तालले सामाजिक सञ्जालमा निकै चर्चा पाएको थियो। लगभग एक हप्ता अघि प्रकाश सिंहले राधिका र उनका श्रीमानको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेपछि उक्त भिडियो निकै भाइरल भएको थियो।
दुई दिनदेखि बिरामी र थला परेकी राधिकाको मृत्युको कारण भने खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रवक्ता गोविन्द चौधरीका अनुसार राधिकाले अलिकति मदिरा सेवन गरेको थिए र त्यसको कारणले ज्यान गएको बुझिएको छ।
राधिका वादीको मृत्युले उनका प्रशंसक र श्रोताहरूसँगै सामाजिक सञ्जालका प्रयोगकर्तालाई दुःखी बनाएको छ।
प्रकाशित मिति : २०८१ फाल्गुन १८ गते आइतवार

