२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

ज्योती मगरले दुर्गेश थापालाई भनिन्– ति भाईको कलाको सम्मान होस्

२१ फागुन, काठमाण्डौँ ।  गायिका ज्योति मगरले आफूलाई पफर्मर भन्दै आएका गायक दुर्गेश थापालाई गरिखान दिन आग्रह गरेकी छन्।

बिहीबार सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै उनले कलाकारको व्यक्तित्व र आचरण खराब भए पनि कलालाई सम्मान गर्नुपर्नेमा जोड दिइन्।

‘एउटा कलाकारको व्यक्तित्व र आचरण जतिसुकै खराब भए पनि कलाकारको कलालाई सम्मान गर्नुपर्छ र गरि खान दिनुपर्छ भन्ने मेरो मान्यता हो,’ उनले लेखेकी छन्, ‘सम्पूर्ण दाङवासीलाई पुरानो कुरा बिर्सिन र ती कलाकार भाइलाई अझै अगाडि बढ्न शुभकामना छ।’

उनले नेपालगञ्ज र दाङका डनहरूलाई गुहार माग्दै सम्पूर्ण शक्ति प्रयोग गर्दा पनि दाङको तुलसीपुर महोत्सवमा दाङबासीहरूले हेलिकप्टर बस्न नदिएकोमा खेद समेत प्रकट गरेकी छन्।

फागुन १८ गते दाङको तुलसीपुर महोत्सवमा कलाकार दुर्गेश थापाले प्रस्तुति दिने कार्यक्रम रहे पनि उनी जान पाएनन्।स्थानीय प्रशासनले सुरक्षाको कारण देखाउँदै कार्यक्रममा रोक लगाएपछि दुर्गेशले कार्यक्रममा प्रस्तुति दिन पाएनन्।

उनले फागुन १७ गते विहान फेसबुकमार्फत आफू हेलिकप्टरमा तुलसीपुर महोत्सवमा आउन लागेको पोस्टर सार्वजनिक गरेका थिए।

उनले पोस्टर राखेपछि सोही साँझ गायिका मगरले ‘तुलसीपुर महोत्सवमा दुर्गेश थापाको हेलिकप्टर उड्यो कि उडेन?’ भन्दै व्यङ्ग्य गरेकी थिइन्। त्यसको जवाफमा दुर्गेशले फागुन १८ गते साँझ ज्योतिप्रति कडा रूपमा जवाफ दिएका थिए।

​​​​​‘केही कलाकारहरूको स्वार्थी सोच,राजनीतिक चलखेल र नियोजित रणनीतिले मलाई महोत्सवमा दर्शकहरू माझ उपस्थित हुन दिएन,’ उनले भनेका थिए, ‘यो घटनाले एकचोटि फेरि स्पष्ट गरिदियो। केही व्यक्तिहरू कलाकारिता भन्दा बढी राजनीतिक स्वार्थमा लिप्त छन्। कोही कलाकारले हेलिकप्टर उड्यो कि उडेना भनेर लेख्न भ्याउनु भएछ। उहाँलाई मेरो बधाई! मेरो कार्यक्रम रोक्न सफल हुनुभयो।’

नाबालिग बलात्कार मुद्दामा नायक पल शाह जेल परेपछि दुर्गेश थापासँगको सम्बन्धमा दरार आएको थियो। सो मुद्दापछि पलका समर्थकले उक्त नाबालिग कलाकारसहित दुर्गेशलाई पनि विभिन्न मेला, महोत्सव तथा सांस्कृतिक कार्यक्रममा दुर्व्यवहार गर्ने गरेका छन्।

प्रकाशित मिति : २०८१ फाल्गुन २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस