२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

गायक प्रमोद खरेलले जिते महत्वपूर्ण मुद्दा

काठमाडौं । गायक प्रमोद खरेलले विन्ध्यवासिनी म्युजिक प्रालिविरुद्धको प्रतिलिपि अधिकार उल्लंघनको मुद्दा जितेका छन्। मंगलबार न्यायधीशद्वय लेखनाथ पौडेल र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासले काठमाडौँ जिल्ला अदालतको निर्णय सदर गर्दै फैसला सुनाएको हो।

गायक खरेलले २०७७ सालमा विन्ध्यवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मी र लीला शर्माविरुद्ध प्रतिलिपि अधिकार उल्लंघनको मुद्दा दायर गरेका थिए। काठमाडौँ जिल्ला अदालतले दोषी ठहर गर्दै १० हजार रुपैयाँ जरिवाना र सर्जकलाई एल्बम फिर्ता गर्न आदेश दिएको थियो।

सजाय कम भएको भन्दै सरकारी वकिल र सञ्चालक रेग्मीले उच्च अदालत पाटनमा पुनः मुद्दा दायर गरेका थिए। खरेलले वि.सं. २०६७ सालमा सार्वजनिक गरेको आफ्नो तेस्रो एल्बम ‘प्रणय’को विक्री वितरण र प्रकाशनका लागि ५ वर्षका लागि कम्पनीलाई अधिकार दिएका थिए।

एल्बम फिर्ता माग्दा रेग्मीले उल्टै खरेललाई सामाजिक संजालमा बदनाम गर्न थालेको खरेलले बताएका छन्। प्रमोदले यसलाई आफूले निकै कष्टकर समयका रूपमा सम्झेका छन्। ‘मलाई मानहानी गरिएको थियो, म डिप्रेसनमा थिएँ,’ उनले भने।

प्रकाशित मिति : २०८१ फाल्गुन २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस