२३ फागुन, काठमाडौँ । बलिवुड अभिनेत्री कियारा आडवाणीले आफ्नो गर्भवती भएको घोषणा गरेर फ्यानहरूलाई खुसीको खबर दिएकी छिन् । तर, यसले फरहान अख्तर निर्देशित आगामी फिल्म डन ३ लाई भने असर पारेको छ । मिडिया रिपोर्टका अनुसार कियारा आडवाणीले परिवारको लागि फिल्मबाट ब्रेक लिने भएपछि उनले फिल्म डन ३ छोडेकी छिन् ।
कियाराले हाल टक्सिक र वार २ को छायांकन समेट्दै गरेको बताइएको छ । यसपछि, उनी आफ्नो परिवार र आफ्नो हुने बच्चाको लागि समय निकाल्न चाहन्छिन् । यसका लागि उनी फिल्मबाट ब्रेक लिनेछिन् । उनको निर्णयलाई डन ३ का निर्माताहरूले सम्मान गरेको र अब यो फिल्मको लागि नयाँ अभिनेत्रीको खोजी सुरु भएको बताइएको छ ।
कियारा आडवाणीले हालै सामाजिक सञ्जालमा आफ्नो गर्भवती भएको घोषणा गरेकी थिइन् । उनले एउटा तस्वीर पोस्ट गर्दै, हाम्रो जीवनको सबैभन्दा सुन्दर उपहार आउन लागेको लेखेकी थिइन् । कियारा आडवाणी यस वर्ष रिलिज हुने फिल्म वार २ को छायांकन गरिरहेकी छिन् ।

