२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हराउँदै तेस्रो सुपर ओभरमा हारको बदला लियो

काठमाडौं। स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजमा नेपालले नेदरल्यान्ड्समाथि ६ विकेटको जित निकालेको छ । नेदरल्याण्ड्सले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६५ रन जोडे । ५१ बलमा उनले ६ चौका प्रहार गरे । आरिफ शेखले आक्रामक ब्याटिङ गरे । उनले २३ बलमा ३९ रन बनाए । आसिफ शेख ७, भीम सार्की २७ र कप्तान रोहित पौडेल ५ रन बनाएर आउट भए । दीपेन्द्रसिंह ऐरी १६ र लोकेश बम १२ रनमा अविजित रहे ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनाएको थियो ।

नेदरल्याण्ड्सका लागि ओपनर माइकल लेभिटले सर्वाधिक ८६ रन बनाए । ५३ बलमा उनले ५ छक्का र ६ चौका प्रहार गरे । लेभिट १४ ओभर ३ बलमा करण केसीको बलमा कप्तान रोहित पौडेलको हातबाट क्याच आउट हुन पुगे । सकिब जुल्फिकारले १४ रनको योगदान दिए ।

लेभिटले जुल्फिकारसँग मिलेर पाँचौं विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए । रोएलफ भ्यान डेर मेवेले र आर्यन दत्तले आठौं विकेटका लागि ४५ रनको अविजित साझेदारी गरे । बलिङमा नेपालका करण केसीले २, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, रुपेश सिंह र ललित राजवंशीले एकएक विकेट लिए । नेपालले अब सिरिजको अन्तिम खेल स्कटल्याण्डसंग शुक्रबार खेल्नेछ ।

 

 

प्रकाशित मिति : २०८२ असार ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस