२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

जेनजी आन्दोलन संसद पस्दा कहाँ थिए गृहमन्त्री ?

काठमाडौं । सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले सोमबार आयोजना गरेको विरोध प्रदर्शन संसद भवनसम्म पुगेपछि गृहमन्त्री रमेश लेखक कहाँ थिए भन्ने प्रश्न उठेको छ।

सोमबार बिहान ९ बजेबाट सुरु भएको प्रदर्शनमा ११ बजेतिर हजारौं युवा सहभागी भएका थिए। दिउँसो १२ बजे प्रदर्शनकारीहरूले नयाँबानेश्वरस्थित ब्यारिकेड तोडे र संसद भवनको गेटतर्फ अघि बढे। त्यतिबेला गृहमन्त्री लेखक सिंहदरबारभित्र राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा व्यस्त थिए। समितिमा प्रहरी विधेयकमाथि छलफल भइरहेको थियो भने लेखक सामाजिक सञ्जाल सूचीकृत गर्ने सरकारको निर्णयको समर्थनमा धारणा राखिरहेका थिए।

प्रदर्शन संसद भवन अगाडि उग्र भएपछि मात्र गृहमन्त्री लेखकले गृहसचिव गोकर्णमणि दुवाडीमार्फत प्रमुख जिल्ला अधिकारी छवि रिजालसँग सम्पर्क गरेका थिए। लगत्तै काठमाडौं प्रशासनले नयाँबानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गर्‍यो।

जेनजी आन्दोलनमा अहिलेसम्म १५ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ भाद्र २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस