२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

‘नेपो-बेबी’ ट्रेन्डमा आलोचित श्रृंखला खतिवडाको प्रतिवाद : मिस नेपालअघि म साधारण जीवन बाँच्थेँ

काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडाले ‘नेपो-बेबी’ ट्रेन्ड र इन्स्टाग्राममा चलेको ‘अनफलो अभियान’बारे खुलेर प्रतिक्रिया दिएकी छन्।

दुईवटा लामो भिडियोमार्फत उनले आफूमाथि लागेको ‘विशेषाधिकारको जीवन’ भन्ने आरोप अस्वीकार गर्दै आफ्नो जीवनशैली साधारण रहेको दाबी गरिन्। उनले भनिन्, मिस नेपाल हुनु अघि आफ्नो जीवनमा कुनै विलासीपन थिएन, म साधारण जीवन बाँचिरहेको एक सामान्य केटी थिएँ।

उनले आफ्नो पढाइदेखि दैनिक जीवनका फोटो र भिडियो इन्स्टाग्राममै सार्वजनिक रहेको प्रष्ट पारिन्। मिस नेपाल भएपछि मात्र संसार बुझ्ने र घुम्ने अवसर पाएको बताउँदै उनले घरभाडा तिर्नुपर्ने चिन्ता भने कहिल्यै नभएको स्वीकार गरिन्। उनका अनुसार, बाबुआमाले पुर्ख्यौली सम्पत्ति बेचेर आफू र दाजुलाई राम्रो शिक्षा दिलाएका थिए।

श्रृंखलाले भ्रष्टाचारविरोधी जेनजी आन्दोलनको भावनालाई सम्मान गर्दै आफू संयोगवश त्यही ट्रेन्डको ‘मुख्य पात्र’ बनेको उल्लेख गरिन्। तर, उनले आन्दोलनलाई गति दिन आफूलाई प्रयोग गरिएकोतर्फ संकेत गर्दै खण्डन गरिन्।

हार्वर्ड अध्ययनका लागि ब्रान्ड इन्डोर्समेन्ट र आफ्नै आय प्रयोग गरेको बताउँदै उनले आआफ्ना कमाइ, खर्च र शैक्षिक विवरणसमेत सार्वजनिक गरेकी छन्। उनका अनुसार, ब्रान्ड एम्बास्डरशिप, रिबन काट्ने कार्यक्रम र सोसल मिडिया पोष्टमार्फत करिब ३ करोड रुपैयाँभन्दा बढी कमाइ भएको थियो।

उनले अन्त्यमा भनेकी छन्, आलोचनाले मन दुखाए पनि आन्दोलनलाई बल मिलेकोमा आफूलाई सकारात्मक रुपमा लिन चाहन्छु।

प्रकाशित मिति : २०८२ असोज २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस