२०८२ माघ २७ गते सोमवार | 2026 February 9th Monday

जब मध्यराति महिला मात्रै भएको छाप्रोमा छिरेका युवकलाई राउटेले रंगेहात समाते…

सुर्खेत । मध्यरात राउटे बस्तीमा छिरेर दुर्व्यवहार गर्न खोज्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शुक्रबार राति १२ बजे लेकबेशी नगरपालिका–९ चौरासे नजिकैको जङ्गलमा बस्दै आएका राउटे समुदायको बस्तीमा छिरेर दुर्व्यवहार गर्न खोजेको आरोपमा लेकबेशी–५, नेटाका राजु रजालीलाई नियन्त्रणमा लिइएको हो।

मदिरा सेवन गरी राउटे महिला एक्लै रहेको छाप्रोमा प्रवेश गरेका उनलाई राउटे युवाहरूले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए। राउटे महिलाले आफूलाई जबरजस्ती गर्न खोजेको बताइपछि बस्तीका युवाहरूले उनलाई समातेका थिए, भन्ने जानकारी राउटे समुदायसँग काम गर्दै आएकी कर्मचारी दुर्गा खत्रीले दिइन्।

दुर्व्यवहार प्रयासबारे जानकारी पाएपछि शनिवार बिहान प्रहरी टोली बस्तीमै पुगेर राजु रजालीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोनजंग बुढाथोकीले बताए। उनले पक्राउ परेका युवकबारे थप अनुसन्धान भइरहेको जनाए।

घटनाबारे राष्ट्रिय मानव अधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले पनि चासो देखाएको छ। दुवै संस्थाका टोली शनिबार बिहान थप जानकारी लिन राउटे बस्तीमा पुगेका छन्।

प्रकाशित मिति : २०८२ असोज २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस