२०८२ कार्तिक ११ गते सोमवार | 2025 October 27th Monday

जात्राका लागि यी चार दिन सार्वजनिक बिदा

बैतडी। शिवनाथ गाउँपालिकाले स्थानीय शिवनाथ मन्दिर र देहीगडा भगवती मन्दिरमा लाग्ने जात्राका अवसरमा चार दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गाउँपालिका अध्यक्ष कर्णसिंह साउदका अनुसार आइतबार भएको अध्यक्षस्तरीय निर्णयअनुसार कार्तिक ११ र १२ तथा कार्तिक १८ र १९ गते बिदा दिइएको हो।

शिवनाथ मन्दिरमा लाग्ने जात्रामा स्थानीयको उल्लासमय सहभागिता र दर्शनार्थीको चहलपहललाई मध्यनजर गर्दै बिदा घोषणा गरिएको गाउँपालिकाले जनाएको छ। यस अवधिमा गाउँपालिकाभित्रका सबै सरकारी कार्यालय, शिक्षण संस्था, बैंक र वित्तीय संस्था बन्द रहने छन्।

शिवनाथ मन्दिरको जात्रामा नेपालभरिका दर्शनार्थी मात्र नभएर भारतीय सीमावर्ती क्षेत्रका पर्यटकहरू समेत सहभागी हुने गरेका छन्। हरेक वर्ष कार्तिक शुक्ल सप्तमी र अष्टमीका दिन शिवनाथ मन्दिरमा जात्रा लाग्ने परम्परा छ।

प्रकाशित मिति : २०८२ कार्तिक ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस