झापा। मेचीनगर नगरपालिका–१४ स्थित हातेमालो सामुदायिक वनभित्र आज बिहान एक कार जलेको अवस्थामा फेला परेको छ। मेची राजमार्ग अन्तर्गत चारआली–चन्द्रगढी सडक खण्डबाट करिब २०० मिटर टाढा जंगलभित्र कार पूर्णरूपमा जलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।
उनका अनुसार कारको नम्बर प्लेट समेत जलेको छ र यसबारे अनुसन्धान भइरहेको छ। “जलिरहेको अवस्थामा कार फेला परेको हो, कसले आगजनी गरेको भन्नेबारे अनुसन्धान भइरहेको छ,” खड्काले बताए।
हातेमालो सामुदायिक वन समितिका अध्यक्ष चन्द्र सिग्देलका अनुसार स्थानीयले कारलाई सडकबाट जंगलतर्फ लैजाँदै गरेको देखेका थिए। केहीबेरमा कारमा आगो लागेको देखेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए।
स्थानीयको आशंका अनुसार चालकले नै वनभित्र लगेर कारमा आगो लगाएको हुन सक्छ। आगजनीपछि चालक फरार छन्। प्रहरी र दमकल टोलीलाई स्थानीयले खबर गरेपछि उनीहरू घटनास्थलमा पुगेका थिए।

