२०८२ मङ्सिर १ गते आइतवार | 2025 November 16th Sunday

विश्वका शीर्ष वैज्ञानिक सूचीमा छनोट भएका शर्मा को हुन् ?

काठमाडौं । सुनसरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष तथा मुटु–मिर्गौला रोग विशेषज्ञ प्रा.डा. सञ्जीवकुमार शर्मा स्ट्यानफोर्ड युनिभर्सिटीको ‘ग्लोबल वैज्ञानिक प्रभाव र्‍याङ्किङ’ सूचीमा परेका छन्। स्ट्यानफोर्ड र एल्सेभियरको सहकार्यमा तयार यो वार्षिक सूचीमा नेपालका ३१ वैज्ञानिकमध्ये प्रा.डा. शर्मा पनि शीर्ष २ प्रतिशत प्रभावशाली वैज्ञानिकमा छानिएका हुन्।

सर्पदंश उपचार पद्धति सुधार, बाथ रोग, मुटु र मिर्गौला सम्बन्धी अनुसन्धानमा २५ वर्षदेखि गरेको योगदानका आधारमा उनी छनोट भएका हुन्। डब्लूएचओमा सर्पदंश कार्यक्रममा नेपाल प्रतिनिधित्व गर्दै आएका शर्मा अन्तर्राष्ट्रिय स्तरमा सक्रिय वैज्ञानिक मानिन्छन्।

यसअघि बीपी प्रतिष्ठानमै कार्यरत प्रा.डा. सुमन रिजाल पनि यो सूचीमा परेका छन्। अहिले उनी डब्लूएचओ, दिल्लीस्थित सर्ने रोग विभागका निर्देशक छन्। नास्टका वैज्ञानिक डा. निरञ्जन कोइरालाका अनुसार स्कोपस डाटाबेसका आधारमा प्रभाव, उद्धरण दर र अनुसन्धान उत्पादनलाई प्राथमिकता दिँदै स्ट्यानफोर्ड–एल्सेभियर टोलीले सूची बनाएको हो।

धरानका प्रा.डा. शर्माले यो मान्यता नेपालकै स्वास्थ्य अनुसन्धानका लागि ठूलो प्रेरणा बनेको बताए। उनले अनुसन्धानलाई चिकित्सकको मूल दायित्वसँगै जोडेर हेर्न आवश्यक रहेको उल्लेख गरे। ‘अनुसन्धानबिना चिकित्सा विज्ञान अघि बढ्दैन,’ भन्दै उनले युवा पुस्तालाई लगन र निरन्तरतासहित अनुसन्धानमा लागेको खण्डमा लक्ष्य सहजै पूरा हुने बताए।

प्रकाशित मिति : २०८२ मङ्सिर १ गते आइतवार
प्रतिक्रिया दिनुहोस