२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

आज बालाचतुर्दशी, दिवङ्गत पितृको नाममा शिवालयमा शतबीज छरिँदै, राति बालियो बत्ती !

काठमाडौँ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिँदैछ ।
गए रातभर दीपदान गरी बसेका श्रद्धालुले आज बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउने गर्दछन् । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिनाथमा आउँछन् ।

देशका विभिन्न भागबाट राजधानी आएका श्रद्धालु भक्तजनको मार्गशीर्ष कृष्ण त्रयोदेशीको बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्ने गर्छ । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लाग्ने गरेको हो । आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।

बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र गरी रात बिताएका छन् । शतबीज भनिए पनि हाल सप्तबीज धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्याउन अनुरोध गरिन्छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस