२०८२ मङ्सिर १० गते मङ्गलवार | 2025 November 25th Tuesday

जनकपुरधाममा विवाह पञ्चमीको उल्लास : त्रेतायुगको झझल्को दिने गरी आज राम–सीताको ‘विवाह’ गरिँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पञ्चमी अर्थात् विवाह पञ्चमी पर्व। त्रेतायुगमा भगवान् राम र सीताको विवाह भएको सम्झनामा आज देशभर यो पर्व मनाइँदै छ । विशेष गरी प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा यो पर्वको विशेष रौनक छ। मिथिलावासीले यस पर्वलाई एक ठुलो महोत्सवका रूपमा मनाउने गरेका छन् ।

त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखेको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारेका थिए । शिवधनुष भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीकै दिन राम र सीताको विवाह सम्पन्न भएको पौराणिक मान्यता छ । सीतालाई छोरी-बहिनी मान्ने मिथिलावासीले यस महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा हुने विश्वास गर्छन्। उनीहरू प्रतिछाया जन्तीको आगमनदेखि विवाह समारोहसम्म हर्षोल्लासका साथ सहभागी हुन्छन् ।

विवाह पञ्चमी महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न गरिन्छ । परम्पराअनुसार राम मन्दिरबाट बाजागाजा र झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमि ९बाह्रबिघा० मैदानमा पुर्याइन्छ। त्यस्तै, जानकी मन्दिरबाट सीतालाई पनि विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमै लगिन्छ ।

रङ्गभूमिमा स्वयंवर र परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामको डोलालाई पुनः जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि राति मिथिला संस्कृतिअनुसार वैदिक परम्परामा विवाह सम्पन्न हुन्छ । यस अवसरमा निस्कने भगवानको डोला शोभायात्रामा नेपालका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनको बाक्लो उपस्थिति रहने गर्दछ । विगतमा तिरहुतियागाछीमा मनाइने यो महोत्सव पछिल्लो दुई दशकदेखि रङ्गभूमि मैदानमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ । त्यस्तै, पहिले एक महिनासम्म भव्य रूपमा मनाइने यो महोत्सवलाई हाल एक सातामा सीमित गरिएको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस