२०८२ माघ २३ गते बिहिवार | 2026 February 5th Thursday

अण्डाको मूल्यले बनायो नयाँ रेकर्ड, किसान नाफामा : कुन कति पर्छ?

काठमाडौं । विगत लामो समयदेखि घाटामा रहेका नेपालका लेयर्स कुखुरापालक किसानले अन्ततः नाफा हुने मूल्य पाएका छन्। नेपाल लेयर्स कुखुरा पालक सङ्घले मङ्गलबारदेखि लागू हुने गरी अण्डाको नयाँ समर्थन मूल्य सार्वजनिक गरेको छ।

नयाँ मूल्यअनुसार एक्सएल (ठूलो) अण्डा प्रतिक्रेट ५८०, ठूलो अण्डा ५६५ र मिडियम अण्डा ५५० रुपैयाँ कायम गरिएको छ। यसअघि ठूलो अण्डाको मूल्य घटेर प्रतिक्रेट ४०० रुपैयाँसम्म झरेको थियो, जसका कारण ७५ प्रतिशतभन्दा बढी किसान विस्थापित भएका थिए।

सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार भारतीय अण्डा अवैध रूपमा नेपाल भित्रिन रोकिएपछि नेपाली किसानले लागत मूल्यभन्दा माथिको मूल्य पाउन थालेका हुन्। भारतमा निर्वाचनका कारण सीमा कडाइ र त्यहाँ अण्डाको माग बढेपछि तस्करी कम भएको उनले बताए।

सल्लाहकार त्रिलोचन कँडेलका अनुसार भारतमै राम्रो मूल्य पाइएकाले त्यहाँबाट नेपाल अण्डा ल्याउने प्रयास घटेको छ। नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा औसत १६.५७ रुपैयाँ पर्छ। हालको मूल्यले किसानलाई नाफा पुगेको बताइएको छ।

जाडो सुरु भएसँगै अण्डाको खपत बढेको र नेपालमा हाल दैनिक करिब ४० लाख गोटा अण्डा उत्पादन हुने अनुमान गरिएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस