२०८३ जेष्ठ १२ गते मङ्गलवार | 2026 May 26th Tuesday

सिन्धुलीको जंगलभरी नेपाली रुपैयाँका नोटै नोट, बोरा-बोरा उठाइयो

सिन्धुलीको घ्याङलेख गाउँपालिकाको केन्द्र रहेको केही माथीको जंगलभरी नेपाली नोटहरु यत्रतत्र छरिएको रुपमा भेटियो । प्रहरी स्थानीय भएर सकेसम्म संकलन गरे, रात परेपछि नदेखिँदा अहिले बिहान खोजिरहेका छन् । बोराका-बोरा नोट भेटिएको छ । यसो हुनुको कारण छ बैक लुटेर बोकेका पैसा स्थानीय र प्रहरीले लखेटेपछि लुटेराले यसरी बोराबाट पैसा फ्याक्दै हिँडेपछि छरिएको हो । जंगलको बाटोमा नोटका बिटाहरु यत्रतत्र छरिए, भाग्ने क्रममा एक ठाउँ त लुटेराहरुलेबोरा नै छोडे ।

२०८२ साल पुष २९ गते मंगलबार बेलुकी ६ः३० बजे सिन्धुलीको घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबिआई बैंक लुटिएको छ । लुटेराहरु आए, गार्डलाई सुरुमा आक्रमण गरे । रोक्न खोज्दा सुरक्षा गार्डको हात काटिदिए, पेस्तोल र खुकुरी देखाएर तर्साए । मुख बाँधेर एक ठाउँ राखे ।
बैंकका कर्मचारी सोहि बैंक भएको माथिल्लो तल्लामा बसेका थिए । बैंक लुट्न आएको समूहका केहि माथि बैंकका कर्मचारी भएको ठाउँमा पुग्छन्, उनीहरुलाई डोरीले बाँध्छन्, नबोल्न भन्छन्, मुख थुनिदिन्छन् । बैंकको पैसा राखिएको ठाउँको चाबी माग्छन्, र ढोका लगाईदिन्छन् ।
कोहि सुरक्षा गार्डको निगरानीमा बस्छन्, कोहि बैंकका कर्मचारीको । केहि मिनेटमै बोरामा पैसा पोको पारेर लुटेराहरु भाग्छन् । यो कुनै फिल्मको कहानी होइन, सिन्धुलीको घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबिआई बैंक लुटको घटना हो । आउनुहोस्, सिन्धुलीमा रहेको बैंक लुट प्रकरणलाई बुँदागत रुपमा टाइमलाइन अनुसार बुझौँ ।

बेलुकी ६ः३० बजे, लुटेराहरु बैंक छिरे
गाउँपालिकाको भवनमा नेपाल एसबिआई बैंकको शाखा छ । सो शाखाको माथिल्लो तल्लामा सोहि बैंकका कर्मचारीहरु बस्छन् । बैंकको मुख्य गेट बन्द थियो । तर बैंक भएको घरको पछाडीपट्टी ओहोरदोहोर गर्ने अर्को एउटा ढोका छ । सो ढोका भने त्यहाँ बस्नेहरु ओहोरदोहोर गर्नका लागि खुला हुन्छ । बैंक लुटेराहरु सोहि गेटको प्रयोग गरेर बैंक छिरेका थिए । बैंक छिर्ने बित्तिकै उनीहरुले गार्डमाथि आक्रमण गरी, अरु कर्मचारीको पनि हात बाँधीदिए, मुख थुनिदिए र चाबी लिए । केहि समयभित्रै बैंक लुटेर उनीहरु भागे ।

करिव ६ः४५ बजेतिर, बैंकका कर्मचारीले प्रहरीलाई फोन गरे
बैंक लुटेराहरुले कर्मचारीहरुलाई बन्धक बनाएर राखेका थिए । लुटेराहरु पैसा लिएर हिँडेपछि बैंकका कर्मचारीले प्रहरीलाई फोन गरे । केहि समयभित्रै प्रहरी आईपुग्यो, उनीहरुको उद्धार गर्यो, घटनाबारे जानकारी लियो र अनुसन्धानमा लाग्यो ।

६ः४५ तिरै गाउँमा हल्लाखल्ला सुरु भईसकेको थियो ।
गाउँलेहरुलाई बैंक लुटिएको थाहा भएपछि उनीहरुले हारगुहार गरे, कराए । तुरुन्त प्रहरी परिचालन भयो । प्रहरीहरुले आफ्नो पिछा गरेको थाहा पाएपछि लुटेराहरु उनीहरुले प्रयोग गरेको गाडी त्यहिं छोडेर जंगलै जंगल भागे । उनीहरुले भागेको देखेपछि केहि स्थानीयहरुले उनीहरुलाई ढुंगाले हान्नसमेत खोजेका थिए ।

लुटेराहरुले सकेको पैसा बोके, नसकेको त्यहिँ छोडिदिए । लुटेको मध्ये एक बोरा पैसा गाडीमै छोडिदिए । बोकेको अरु पैसा पनि भाग्ने क्रममा उनीहरुले ठाउँ ठाउँ फाले । जंगलको बाटोमा नोटका बिटाहरु यत्रतत्र छरिए, भाग्ने क्रममा एक ठाउँ त लुटेराहरुलेबोरा नै छोडे । उनीहरुलाई पछ्याईरहेको प्रहरी र स्थानीय बासिन्दाले लुटेरा त भेटेनन्, तर बोराभरि पैसा भेटे, जुन पैसा स्थानीयले प्रहरीको जिम्मा लगाईसकेका छन् ।

प्रहरीले बैंक लुट्नका लागि प्रयोग भएको गाडी र सवारी चालक नियन्त्रणमा लिएर अनुसन्धान थाल्यो । प्रारम्भिक बयानका क्रममा सवारीचालकले केटी भगाउने भन्दै गाडी रिजर्भ गरेको, हामी कुरा मिलाएर केहि छिनमा आउँछौँ भनेको र गाडी र ड्राइभरलाई बैंक अगाडी राखेको बताए । तर पछि उनीहरुले पैसाका बोरा लोड गरेर गाडी कुदाउन भनेको सवारी चालकको भनाई छ । उनका अनुसार अलि अघि गएपछि मात्र बैंक लुटिएको थाहा भयो । प्रहरीहरु पिछा लागेको थाहा भएपछि उनीहरुले गाडी रोक्न लगाएर भागेका थिए ।

रात छिपिंदै गर्दा, अवेरसम्ममा लुटेराहरुले भाग्ने क्रममा जंगलमा छाडेका नोटहरु केहि भेटिए, केहि भेटिएनन् । प्रहरीले सर्च अपरेशन चलाएको छ, बैंकका कर्मचारीहरुलाई सोधपुछ गरेको छ, उनीहरुलाई आफ्नै सुरक्षामा सुरक्षित राखेको छ । घटनाबारे बैंकको केन्द्रीय कार्यालयमा जानकारी पुगिसकेको छ । यस विषयमा नेपाल राष्ट्र बैंकले पनि चासो राखेको छ भने बैंकले पाएको सूचना राष्ट्र बैंकका अधिकारीहरुलाई दिएको छ ।

 

प्रकाशित मिति : २०८२ माघ १ गते बुधवार
प्रतिक्रिया दिनुहोस