२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

बाल विवाह अन्त्यका लागि कोशी प्रदेशमा १०० दिने अभियान

इटहरी । बाल विवाह अन्त्य गर्ने उद्देश्यसहित कोशी प्रदेशमा १०० दिने अभियान सञ्चालनमा आएको छ। राष्ट्रिय बाल अधिकार परिषद्, जस्ट राइट फर चिल्ड्रेन नेपाल तथा ग्रामिण महिला उत्सुकता विकास मञ्च (फरवार्ड)को साझेदारीमा गत जनवरी महिनादेखि उक्त अभियान सुरु गरिएको हो।

नेपाल सरकारले सन् २०३० सम्म नेपाललाई बाल विवाह मुक्त राष्ट्र घोषणा गर्ने लक्ष्य लिएको सन्दर्भमा सो अभियान सहयोगी पहलका रूपमा अघि बढाइएको आयोजक संस्थाहरूले जनाएका छन्।

अभियानअन्तर्गत हाल सुनसरी र मोरङ जिल्लाका विभिन्न स्थानीय तह, विद्यालय, समुदाय, संघ–संस्था तथा सरोकारवाला निकायसँग समन्वय गरी अभिमुखीकरण कार्यक्रम सञ्चालन भइरहेको छ। यसक्रममा बाल विवाह नगर्ने र हुन नदिने प्रतिबद्धता समेत गराइँदै आएको छ।

बाल विवाहका कारण बालबालिकाको शारीरिक, मानसिक तथा आर्थिक विकासमा गम्भीर असर पर्ने, भविष्य अन्धकार बन्ने, लैङ्गिक हिंसाको सुरुवात हुने तथा अकाल मृत्युको जोखिम बढ्ने भएकाले यसको अन्त्य अत्यावश्यक रहेको अभियानले जनाएको छ।

यसैगरी, कतै बाल विवाह हुन लागेको जानकारी प्राप्त भएमा सम्बन्धित वडा कार्यालय, स्थानीय तह, प्रहरी, बाल संरक्षण संयन्त्र वा सरोकारवाला संस्थामा कसरी र कहाँ सम्पर्क गर्ने भन्ने विषयमा समेत समुदायलाई जानकारी गराइँदै आएको छ।

अभियानमार्फत बालबालिकाको अधिकार संरक्षण, सुरक्षित भविष्य निर्माण तथा समाजलाई बाल विवाह मुक्त बनाउन सबै सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिइएको छ।

प्रकाशित मिति : २०८२ माघ ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस