प्रकाश काफ्ले/काठमाडौंनिर्वाचन आयोग नेपालले समानुपातिक प्रणालीबाट विभिन्न दलहरूले पाएको सिट संख्या सार्वजनिक गरेसँगै श्रम संस्कृति पार्टी भित्र सांसद बन्ने आकांक्षा राख्ने नेताहरूबीच सक्रियता बढेको छ। बन्दसूचीमा रहेका केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत आफूलाई सांसद बनाइनुपर्ने माग समेत सार्वजनिक गर्न थालेका छन्।
समानुपातिकतर्फ चार सिट जितेको यस पार्टीका अध्यक्ष हर्क साम्पाङ का लागि भने सांसद छनोटको प्रक्रिया जटिल बन्दै गएको देखिन्छ। उनले आफ्नै सामाजिक सञ्जालमार्फत यस विषयमा असन्तुष्टि व्यक्त गर्दै “भात खाऊ, मेरो टाउको नखाऊ” भन्ने छोटो प्रतिक्रिया दिएका थिए।
त्यसपछि उनले अझ कडा चेतावनी दिँदै समानुपातिक सिटका विषयमा अनावश्यक दबाब वा विवाद सिर्जना गर्नेहरूलाई पार्टीको साधारण सदस्यता समेत खारेज गरेर निष्कासन गरिने बताएका छन्।
पार्टीले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा रहेका केही व्यक्तिहरूले भने सार्वजनिक रूपमा सांसद बन्ने दाबी गरेका छन्। तीमध्ये सामला साम्पाङ राई ले सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममार्फत आफूलाई समानुपातिक सांसद बनाउनुपर्ने धारणा राखेकी छन्। उनले पार्टीभित्र आफ्नो योगदान रहेको र आफूलाई अवसर दिनुपर्ने बताएका छन्। समलाको नाम आदिवासी जनजाति महिला समूहको सूचीमा १६औँ नम्बरमा रहेको बताइएको छ।
त्यसैगरी सूचीमा रहेकीआशा लामा ले पनि आफूलाई समानुपातिक सांसद नबनाए अध्यक्ष साम्पाङको घर अगाडि धर्ना बस्ने चेतावनी दिएको उल्लेख गरिएको छ। आदिवासी जनजाति महिला क्लस्टरमा उनको नाम तेस्रो स्थानमा छ। सांसद चयनका विषयमा दबाब दिन उनी काठमाडौंबाट धरान पुगेको बताइएको छ।
हाल प्रत्यक्षतर्फबाट निर्वाचित पार्टी अध्यक्ष साम्पाङसहित ध्रुवराज राई र एरेन राई तीनै जना आदिवासी जनजाति समुदायका पुरुष हुन्। यस कारण पार्टीले समानुपातिकतर्फ पाएको चार सिटमध्ये कम्तीमा तीन सिट महिलालाई दिनुपर्ने अवस्था देखिएको छ, किनकि संसदमा कम्तीमा ३३.३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य हुन्छ।
त्यसका साथै समानुपातिक सांसद चयन गर्दा खसआर्य, आदिवासी जनजाति, दलित, मधेशी, मुस्लिम र थारू समुदायको प्रतिनिधित्व समेत मिलाउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।

