२०८३ बैशाख ११ गते शुक्रवार | 2026 April 24th Friday

२०औं लोकतन्त्र दिवस : संघीय लोकतान्त्रिक गणतन्त्रको जगका रूपमा आज देशभर मनाइँदै

काठमाडौँ । नेपालमा आज २०औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइँदैछ । विसं २०६३ सालको जनआन्दोलनले ल्याएको ऐतिहासिक परिवर्तनको स्मरण गर्दै हरेक वर्ष वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रूपमा मनाउने गरिएको छ ।

विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेका थिए । सोही दिन जनताको विजय भएको खुसीयालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।

तत्कालीन अवस्थामा राजा ज्ञानेन्द्रले लोकतन्त्रको मूल्य र मान्यता विपरीत शासन सत्ता आफ्नो हातमा लिएका थिए। विसं २०६१ माघ १९ गतेको कदमपछि मुलुकमा उत्पन्न राजनीतिक संकटलाई समाधान गर्न आन्दोलनरत सात दल र तत्कालीन नेकपा माओवादीका बीच १२ बुँदे समझदारी भएको थियो। २०६२ साल मंसिरको सो समझदारीले तीन ध्रुवमा विभाजित शक्तिहरूलाई दुई ध्रुवमा ल्याएपछि आन्दोलनले थप बल प्राप्त गर्‍यो ।

 

प्रकाशित मिति : २०८३ बैशाख ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस