काठमाडौं । पाकिस्तानले इरानका लागि आफ्ना ग्वादर र कराची बन्दरगाह खुला गर्ने घोषणा गरेको छ । पाकिस्तानको वाणिज्य मन्त्रालयले जारी गरेको ‘ट्रान्जिट अफ गुड्स थ्रु पाकिस्तान’ (पाकिस्तानमार्फत सामान आवागमन) आदेश २०२६ अन्तर्गत इरानी उत्पादनको व्यापारका लागि छ वटा करिडोर खोलिएका छन् ।
यी व्यापारिक करिडोर प्रयोग गर्दै इरानले पाकिस्तानमार्फत तेस्रो देशसँग आयात–निर्यात गर्न सक्नेछ । पाकिस्तान सरकारले यस्तो घोषणा त्यतिबेला गरेको हो, जब फेब्रुअरी २८ देखि सुरु भएको युद्ध र स्ट्रेट अफ होर्मुज इरानी बन्दरगाहमाथि अमेरिकी नाकाबन्दीका कारण इरानको आयात–निर्यात प्रभावित भएको छ ।
सामान्यतया भूपरिवेष्ठित (चारैतिर जमिनले घेरिएका) देशहरूले तेस्रो देशमार्फत अन्तर्राष्ट्रिय व्यापार गर्छन् । अफगानिस्तानले दशकौँदेखि पाकिस्तानका बन्दरगाह प्रयोग गर्दै व्यापार गर्दै आएको छ । तर इरानसँग आफ्नै बन्दरगाह भए पनि हालको अवस्थाले उसलाई व्यवहारत: भूपरिवेष्ठित जस्तै बनाएको छ ।
यस समयमा पाकिस्तान इरान र अमेरिकाबीच मध्यस्थकर्ताको भूमिकामा देखिएको छ । विश्लेषकहरूका अनुसार यो निर्णय इरानप्रति विश्वास निर्माण गर्ने महत्वपूर्ण कदम हो ।
‘ट्रान्जिट अफ गुड्स थ्रु पाकिस्तान’ आदेश के हो ?
होर्मुज़ स्ट्रेट
पाकिस्तानको वाणिज्य मन्त्रालयका अनुसार, यस आदेशले पाकिस्तान र इरानबीच ट्रान्जिट व्यापारलाई सुदृढ बनाउँदै क्षेत्रीय व्यापारलाई बढावा दिनेछ ।
वाणिज्य मन्त्री जाम कमालले भनेका छन्, ‘यस कदमले पाकिस्तानको रणनीतिक महत्व बढाउनेछ र देशलाई क्षेत्रीय व्यापारिक करिडोर तथा लजिस्टिक्स हबको रूपमा स्थापित गर्न सहयोग पुर्याउनेछ ।’
मन्त्रालयका अनुसार ग्वादर, कराची र तफ्तानलगायत विभिन्न मार्गलाई ट्रान्जिट करिडोरका रूपमा तोकिएको छ र भन्सार कानुनअन्तर्गत सामानको आवागमनलाई थप पारदर्शी र व्यवस्थित बनाइँदैछ ।
पाकिस्तान र इरानबीच ९०९ किलोमिटर लामो सीमा छ, जहाँ विभिन्न औपचारिक र अनौपचारिक नाकाहरू छन् । प्रमुख सीमा नाकाहरूमा क्वेटानजिकको तफ्तान, ग्वादरनजिकको गब्द र मण्ड–पिशिन क्षेत्र पर्दछन् ।
युद्धको अवस्था हुँदाहुँदै पनि पाकिस्तान–इरानबीचको सामान्य व्यापार भने जारी रहेको छ ।
विश्लेषकहरूका अनुसार, इरानका लागि ट्रान्जिट करिडोर खोल्दा भविष्यमा पाकिस्तानले मध्य एसियाली देशहरूसम्म पहुँच विस्तार गर्न सक्नेछ ।
खोलिएका प्रमुख व्यापारिक मार्गहरू
पाकिस्तानले इरानका लागि निम्न ६ व्यापारिक मार्ग खोलेको छ :
१.ग्वादर–गब्द
२. कराची/पोर्ट कासिम–ल्यारी–ओरमारा–पस्नी–गब्द
३. कराची/पोर्ट कासिम–खुजदार–दल्बन्दिन–तफ्तान
४. ग्वादर–तुरबत–होशाब–पन्जगुर–नाग–बिस्माह–खुजदार–क्वेटा/लाक पास–दल्बन्दिन–नोकुन्डी–तफ्तान
५. ग्वादर–ल्यारी–खुजदार–क्वेटा/लाक पास–दल्बन्दिन–नोकुन्डी–तफ्तान
६. कराची/पोर्ट कासिम–ग्वादर–गब्द
यो निर्णय किन महत्वपूर्ण छ ?
आर्थिक विश्लेषक डा. आबिद सुलेहरीका अनुसार, पाकिस्तानले यस्तो कदम अमेरिकालाई विश्वासमा लिएर नै चालेको हुनुपर्छ ।
पूर्व वाणिज्य मन्त्री डा. जुबैर खानका अनुसार इरानलाई दिइएको यो सुविधा अफगानिस्तानजस्तै सर्तहरूमा हुनेछ । उनका अनुसार, यसबाट पाकिस्तानले ट्रान्जिट शुल्क पाउनेछ र इरानी जनताबीच सद्भावना पनि बढ्नेछ ।
वरिष्ठ पत्रकार मुश्ताक घुमनले इरानी नेतृत्वको आग्रहपछि पाकिस्तानले यो निर्णय लिएको जनाएका छन् ।
पाकिस्तानको व्यापारिक महत्वाकांक्षा
अमेरिकी नाकाबन्दीका कारण इरान अहिले व्यवहारत: भूपरिवेष्ठित अवस्थामा पुगेको छ । इरान ठूलो तेल र ग्यास उत्पादक देश भए पनि अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण पाकिस्तानले त्यहाँबाट तेल आयात गर्न सक्दैन । यद्यपि, खाद्यान्न र आवश्यक वस्तुको व्यापार विनिमय प्रणालीमा जारी छ ।
पाकिस्तान बंदरगाह
विश्लेषकहरूका अनुसार, पाकिस्तानले प्रत्यक्ष व्यापार नभई केवल ट्रान्जिट सुविधा दिएकाले उसलाई अमेरिकी प्रतिबन्धको जोखिम कम हुनेछ ।
यसै महिनाको सुरुमा पाकिस्तान–इरान ट्रान्जिट करिडोर औपचारिक रूपमा सञ्चालनमा आएको छ थियो । पहिलो कन्साइनमेन्ट इरान हुँदै उज्बेकिस्तानको ताशकन्द पठाइएको थियो ।
यसले क्षेत्रीय व्यापार, अन्तर्राष्ट्रिय सम्बन्ध र आर्थिक गतिविधिलाई मजबुत बनाउने अपेक्षा गरिएको छ ।
विश्लेषकहरूका अनुसार, यो पहलले पाकिस्तानलाई अफगानिस्तानको विकल्पको रूपमा सुरक्षित र स्थिर व्यापार मार्ग उपलब्ध गराउनेछ ।
अफगानिस्तानसँगको सीमावर्ती तनाव र अस्थिरताका कारण अवरुद्ध भएको मध्य एसियासँगको व्यापार अब इरानमार्फत विस्तार गर्न सकिने सम्भावना बढेको छ ।
यस निर्णयले पाकिस्तान–इरानबीचको द्विपक्षीय व्यापार बढ्नुका साथै क्षेत्रीय व्यापारमा पाकिस्तानको भूमिका थप सशक्त बन्ने देखिन्छ ।
यसअघि स्ट्रेट अफ होर्मुज बन्द हुँदा धेरै जहाजहरू पाकिस्तानी बन्दरगाहतर्फ मोडिएका थिए, जसले कराची बन्दरगाहमा कार्गो गतिविधि बढाएको थियो । विश्लेषकहरूका अनुसार, अब ट्रान्जिट व्यापार विस्तारसँगै ग्वादर र कराची बन्दरगाह थप व्यस्त हुनेछन् ।

