२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

४ करोड ठगी गरेको आरोपमा एकै परिवारका तीन जना पक्राउ

काठमाडौं । धनुषा प्रहरीले दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा धितो राखी ४ करोड ठगी गरेको आरोपमा जनकपुरधाम–१६ कपिलेश्वर निवासी एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ परेकामध्ये ५३ वर्षीय गोपाल साह, उनकी श्रीमती ४८ वर्षीय रेखा साह र छोरा ३२ वर्षीय हरेराम साह रहेका छन्। गोपाललाई जनकपुरधामस्थित होटलबाट, रेखालाई जटही सीमा नाकाबाट र हरेरामलाई काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रुपक खड्काले जानकारी दिए। प्रहरीका अनुसार जनकपुरधाम–२ निवासी गोविन्दकुमार साहले व्यापारका लागि गोपालसँग ९९ लाख ऋण लिँदा दृष्टिबन्धकमा राखिएको जग्गा पछि बैंकमा धितो राखी ४ करोड ऋण लिएको पाइएको छ।

गोपाल साहको घरबाट जग्गाधनी पुर्जा ५० थान, नागरिकता प्रमाणपत्र १८ थान, एक ल्यापटप, विभिन्न छाप तथा नक्सा बरामद गरिएको छ। पक्राउ परेका तीनै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : २०८३ साउन ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस