२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

सुनसरीको पूर्व–पश्चिम राजमार्गमा अनिश्चितकालीन कर्फ्यु

विराटनगर । सुनसरीको देवानगन्जमा एक युवकको मृत्यु भएपछि चर्किएको आन्दोलन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालयले पूर्व–पश्चिम राजमार्गमा समेत अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। प्रशासनले आज राति ९ बजेदेखि अर्को सूचना नभएसम्म लागू हुने गरी कर्फ्यु लगाएको हो। इनरुवा नगरपालिका वडा नं. ३ र ६ को सीमा (घोपली टोल) देखि पश्चिममा कोशी ब्यारेजको पुलसम्म, उत्तर–दक्षिणमा महेन्द्र राजमार्गदेखि ५०० मिटर क्षेत्रसम्म कर्फ्यु लागू गरिएको छ।

यसअघि देवानगन्ज र हरिनगराका पाँच मुख्य बजार क्षेत्रमा कर्फ्यु जारी गरिएको थियो। आइतबार राति कप्तानगन्जमा भएको झडपमा प्रहरीको गोली लागी ओमप्रकाश मेहताको मृत्यु भएपछि सोमबार दिनभर विभिन्न ठाउँमा प्रदर्शन भएको थियो। प्रदर्शनकारीले लौकही, भोक्राहा र इनरुवा खण्डमा राजमार्ग अवरुद्ध गर्दै टायर बालेर प्रदर्शन गरेका थिए। कर्फ्युका वावजुद पनि हरिनगर र देवानगन्जमा दिनभर प्रदर्शन जारी रहेको प्रशासनले जनाएको छ।

प्रकाशित मिति : २०८३ साउन ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस