काठमाडौं – गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा उपत्यकाका विभिन्न ग्यास डिपोमा आइतबारदेखि सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। भारतबाट आयातमा समस्या नभए पनि बजारमा कृत्रिम अभाव देखाएर कालोबजारी भइरहेको गुनासोपछि उद्योगमन्त्री गौरी यादवले गृहमन्त्री सुधन गुरुङलाई निगरानी बढाउन आग्रह गरेकी थिइन्।
गृहमन्त्रीको निर्देशनअनुसार प्रहरी प्रशासनले बिहानैदेखि डिपोमा निगरानी सुरु गरेको हो। ग्यास लुकाउने, तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने वा कालोबजारी गर्ने गतिविधि भेटिए तत्काल कारबाही हुने बताइएको छ।
उपत्यकामा गरिएको अनुगमनबाट प्राप्त सूचनाका आधारमा आवश्यक परे अन्य जिल्लामा पनि सादा पोसाक प्रहरी परिचालन गर्ने तयारी गृह मन्त्रालयले जनाएको छ। सरकारले आपूर्ति सहज हुँदाहुँदै अभाव सिर्जना गरी उपभोक्तालाई दुःख दिने गतिविधि स्वीकार्य नहुने भन्दै कालोबजारी नियन्त्रणलाई थप कडाइ गर्ने चेतावनी दिएको छ।

