२०८३ भाद्र २७ गते शनिवार | 2026 September 12th Saturday

पहिरो र ठूला ढुङ्गाले थुनियो दुधकोशी, हाई अलर्ट सूचना जारी

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–४ र ५ को सिमाना भएर बग्ने हुङ्गा खोला आज बिहान ७ बजे पहिरोले थुनिएपछि करिब १०० मिटर लामो र १६ मिटर अग्लो अस्थायी बाँध बनेको छ। प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरका अनुसार पहिरो खस्ने क्रम नरोकिएकाले खोलामा पानीको मात्रा बढिरहेको छ।

खोला दुधकोशीमा मिसिने भएकाले अस्थायी तालको पानी एक्कासि बाहिरिएमा तल्लो तटीय क्षेत्रमा असर पर्न सक्ने अनुमान गरिएको छ। त्यसैले सोलुखुम्बुसँगै ओखलढुङ्गा र खोटाङका बासिन्दालाई समेत सावधानी अपनाउन आग्रह गरिएको छ।

महाकुलुङ गाउँपालिकाले घटनास्थलमा स्काभेटर पठाएर जोखिम न्यूनीकरणको पहल थालेको अध्यक्ष सूर्यबहादुर कुलुङले बताए। स्थानीय प्रशासनले खोला तथा नदी किनारका बासिन्दालाई सतर्क रहन र सुरक्षा निकायको सूचना पालना गर्न अनुरोध गरेको छ।

प्रकाशित मिति : २०८३ भाद्र २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस