२०८२ फाल्गुन १३ गते बुधवार | 2026 February 25th Wednesday

नेपाली बालिकाको भिडियो सेयर गर्दै अमेरिकी पूर्व राष्ट्रपति पत्नीले भनिन् उनको कथाबाट उत्प्रेरित छु

काठमाडौं । अमेरिकी पूर्वप्रथम महिला पूर्व राष्ट्रपति बाराक ओबामाकी पत्नी मिसेल ओबामा परोपकारी कार्यका कारण विश्वभर चर्चित छिन् । पडकास्टमार्फत युवापुस्तालाई प्रेरणा दिनेदेखि ओबामा फाउण्डेसनबाट शिक्षा, स्वास्थ्य र महिला सशक्तीकरणमा उनको सक्रियता लोभलाग्दो छ । पति बाराक ओबामा ह्वाइट हाउसमा हुँदादेखि नै उनी कल्याणकारी कार्यमा सक्रिय छिन् ।

‘वर्ल्ड फादर्स डे’को अवसरमा एक भिडियो सेयर गर्दै उनले एक नेपाली बालिकाको शिक्षामा सघाउने वचन दिएकी छन् । देछेन नामक ती नेपाली बालिकाको उक्त भिडियो सेयर गर्दै उनी लेख्छिन्, ‘म देछेनबाट उनको बुबाले केटीलाई शिक्षा दिने कामको कथाबारे उत्प्रेरित छु । द स्मल वल्र्ड नेपालको यस्तो संस्था हो, जुन गल्र्स अलायन्सको हिस्सा पनि हो । म आशा गर्दछु कि तपाईंले संसारभरका यस्ता संस्थाहरूलाई समर्थन गर्नुहुनेछ ।’

उनले किशोरीलाई सशक्त तुल्याउने कुरामा शिक्षाको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै उक्त संस्थालाई आर्थिक रुपमा सघाउन ‘गो फन्ड मी’को लिंक पनि सेयर गरेकी छन् । यो गल्र्स अलायन्स ओबामा फाउण्डेसनको एक हिस्सा हो । जसले संसारभरका किशोरीलाई शिक्षा दिलाउने कार्यमा काम गर्छ ।

मिसेलले सेयर गरेको काठमाडौंको उक्त भिडियो मर्मस्पर्शी लाग्छ, जहाँ देछेनका बुवाले छोरीको शिक्षाका लागि गरेको मेहनत देख्न सकिन्छ । ओबामाले छोरीलाई पढाउन देछेनका बुवाले गरेको संघर्षप्रति सहानुभूति पनि व्यक्त गरेकी छन् । उनले सेयर गरेको लिंकअनुसार ओबामा फाउण्डेसनअन्तर्गतको गल्र्स अलायन्सले ती बालिकालाई पढाउने भएको छ ।

प्रकाशित मिति : २०८० असार ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस